इटहरीः इटहरी उपमहानगरले पटकपटक सूचना दिएर त्यसपछि सडक क्षेत्रका अस्थायी संरचनाहरू हटाउँदा वडाध्यक्षदेखि प्रदेश सांसदको घर अगाडिका संरचनाहरू हटाइएका छन् ।
वडा नम्बर ६ का अध्यक्ष दीपक गौतम र प्रदेश सांसद लीलम बस्नेतको घर अगाडिका सडकका अस्थायी संरचनाहरू पनि भत्काइएका छन् । सडकमा जोडिएका सिमेन्टेड पेटीलाई भत्काइएको हो ।
पटकपटकको सूचना अटेर भएपछि भत्किए संरचना
इटहरी स्थानीय सरकारले सडकको साढे ८२ फिट क्षेत्रफल ‘क्लियर’ गर्न गरेको पटकपटकको सूचना र समयसीमा नमानेपछि यसरी संरचनाहरू भत्काइएका हुन् । उपमहानगरले पहिलो पटक भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरेर १० गतेभित्र सबै संरचना हटाउन सूचना गरेको थियो । त्यो सूचनाको समयसीमामा संरचना नहटाइएपछि फेरि भदौ १८ गते सूचना प्रकाशित गरेर १९ गतेभित्र हटाउन भनियो । यो सूचना पनि अटेर भएपछि उपमहानगरले आफैँ डोजर चलाएर सडक क्षेत्रका अस्थायी संरचनाहरू भत्काउन थालेको हो । अस्था
कसैलाई लाखा, कसैलाई पाखा गरियोः स्थानीय
लामो समयदेखि सडक अतिक्रमण गरेर रहेका अस्थायी संरचनाहरू भत्काउन इटहरीमा धेरै अगाडि माग गरिएको थियो । सबैको चाहनाबमोजिम सडक क्लियर गर्न उपमहानगरले डोजर लिए पनि कसैलाई काखा कसैलाई पाखा गरिएको स्थानीयहरूको गुनासो छ ।
इटहरीको पूर्व लाइनमा रहेको राष्ट्रिय वाणिज्य बैंक भएको प्रदेश सांसद लीलम बस्नेतको घर अगाडिको सिमेन्टेड पेटी भत्काइयो । तर, सोही अगाडिको इटहरीको आइ सिनेमाले सडकमा ब्लक बिच्छ्याएर गरिएको पार्किङ क्षेत्र भने भत्काइएन । जबकि सोही क्षेत्रमा जोडिएका आसपासका अन्य सिमेन्टेड पेटीहरू भने भत्काइयो । यसमा स्थानीयहरू रुष्ट छन् ।
‘अरुका पेटी भत्किँदा आइ सिनेमाका पेटीहरू छोइएन’, इटहरी ६ का सन्देश अधिकारी भन्छन्, ‘पश्चिमलाइनमा पनि हीरा होटल, सगुन स्वीटजस्ता सबैको पेटी भत्काइयो तर सोही लाइनका हङकङ मार्केट र आसपासका घरअगाडिका संरचनाहरू छोइएन ।’
गुनासो अधिकारीको मात्रै होइन अन्य धेरै जनाको छ । कतै डोजरले ८२ फिट भन्दा पछाडिका संरचनाहरूमा पनि हानि गरेको आरोप छ । खानेपानीका पाइप र टेलिफोन सेवा अवरुद्ध हुनेगरी डोजर चलाइएको छ । सोमबार इटहरी बजार क्षेत्रका धेरै टेलिफोन सेवाहरू अवरुद्ध भए ।
सडक क्लियरमा अनुहार हेरेर काम गरेको छैनः मेयर
यसरी कसैलाई काखा र कसैलाई पाखा गरिएको विषयमा इटहरीका मेयर चौधरीले त्यस्तो नभएको बताए । आफूले अनुहार हेरेर भन्दा रिपोर्टका आधारमा भएको सर्वसम्मत निर्णयका आधारमा काम गरेको उनले बताए । इटहरीको आइ सिनेमा र हीरा होटल आसपास कतै सडकमा बनाइएका पेटी भत्काइएका र कतै छुँदै नछोएको विषयमा भने मेयर चौधरीले आफू स्थलगत अवलोकनमा नगएको तर कसैलाई पनि विभेद नगरिने बताए ।
कमजोरीलाई सुधार गरेर सडक क्लियर जारी हुन्छः गौतम
यता, इहटरीको ट्राफिक व्यवस्थापनको लागि बनेको सुझाव समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष दीपक गौतमले कतै गल्ती भए सुधार गरिने बताए । सडककै उचाइमा रहेका संरचनाहरू नचलाएको तर अग्ला र असहज संरचनाहरू हटाइनाले त्यस्तो गुनासो आएको गौतमले बताए । ‘सडकको उचाइमै सडकको क्षेत्रमा अस्थायी संरचनाहरू नराख्न यो उपमहानगरको कार्यक्रम हो’, गौतमले भने, ‘कतै केही कमजोरी भए सच्याएर सडक क्लियरको काम अगाडि बढ्छ । यो वडाको कार्यक्रम नभएर नगरकार्यपालिकाले निर्णय गरेर २ पटक सूचना प्रकाशित गरेको काम भएकाले रोकिन्नँ ।’