विराटनगरः भारतको बिहारको बथनाहामा अवस्थित मिरगज पुल क्षतिग्रस्त बनेपछि मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगेका छन् । समस्याको चाँडो निकास निकाल्न प्रदेश राजधानी विराटनगरका व्यवसायीले माग गरेका छन् ।
भारतीय बजार जोगबनी छेउमा अवस्थित जिर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मतको क्रममा रहेको छ । तर मर्मत कार्य पुरा हुन कम्तिमा तीनदेखि चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी गराएको छ ।
निर्माण पश्चात पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था कायमै
रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताएका छन् । समस्या बुझ्न मंगलबार संघ र उद्योग संगठनको प्रतिनिधिमण्डल मिरगंज पुगेको थियो ।
मुन्दडाले भने,‘‘नेपालको दोश्रो ठूलो नाका र मोरंग–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रुपमा रहेको यो पुल, दुई वर्षअघि यही अवस्था सिर्जना हुँदा आठ महिनासम्म मालसामान सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी ल्याउनु परेको थियो ।’’ फेरि त्यस्तै अवस्था सिर्जना भए प्रदेश १ का उद्योगी व्यवसायीहरुले जेनतेन उद्योग व्यावसायलाई जोगाउनु पर्ने अवस्था आउने मुन्दडाको भनाइ छ ।
उद्योगल्े पटक पटक विभिन्न निकायहरुमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम चालिएको नदेखिएको बताउँदै आएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने,‘‘नेपाल सरकारको कुटनितिक पहलकालागि परराष्ट्र मन्त्रालय, भारतीय राजदुतावास–काठमाण्डौँ, नेपाली राजदुतावास दिल्ली, भारतका हाई वे डिभिजनहरु लगायत विभिन्न मन्त्रालयहरुमा पहल गरिएको छ । तर, कुनै ठोस काम भएको अवस्था छैन् ।’’ उनले समस्या समाधानको लागि चासो लिन सरकार समक्ष माग गरे ।
मिरगञ्ज पुलको छेउमा बन्दै गरेको आर.सी.सी. पुलको निर्माण कार्य सन २००८ मा शुरु भएतापनि हालसम्ममा चार वटा पिलर मात्र अर्ध रुपमा मात्र निर्माण भएको उद्योगीले बताएका छन् ।
हालको यस पुलमार्फत मालवाहक सवारी साधनहरुको आवत जावत पुर्ण रुपले ठप्प हुँदा भारत तर्फ मात्र पनि करिब ५ हजार सवारी साधनहरु अलपत्र पर्ने स्थिति रहेको र हाल २००० भन्दा बढी मालवाहक सवारी साधनहरु लामबद्ध भई सकेका छन् । यसको डिटेन्सन र डेमुरेज चार्ज मात्रै प्रति दिन १ करोड रुपैयाँ लाग्ने गरेको घिमिरेले सुनाए ।साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अरबौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना भएको भन्दै दैनिक उपभोग्य वस्तुहरुको अभाव हुने प्रवल सम्भावना देखिएको उद्योगीको दाबी छ ।
अध्यक्ष मुन्दडाले तत्कालिक समाधानकालागि विगतमा झैँ सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरु रि–रुट गरेर ल्याउने व्यवस्थाकालागि पहल गर्न माग गरे । साथै, दिर्घकालिन समाधानकालागि आई.सी.पी. जोगबनी जोड्ने आर.सी.सी. पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिईनु पर्ने नेपालका उद्योगीले माग गरेका छन । संघ र संगठनले मंगलबार विाटनगरमा पत्रकार सम्मेलन गरेर समस्याबारे अवगत गराएका हुन ।