विराटनगरः भारत बिहारको बथनाहामा अवस्थित मिरगन्ज पुलमा भारतीय पक्षबाट अवरोध भएको छ ।
यो पुल विराटनगरको रानी भन्सार नाकाबाट ६ किलोमिटर दक्षिण छ । कलकत्ता हुँदै तेस्रो देशबाट आयात हुने औद्योगिक कच्चा पदार्थ र मालसामान यतैबाट नेपाल आउँछ । तर, पुल मर्मत गर्नुपर्ने जनाउँदै भारतीय सुरक्षाकर्मीले पुलबाट मालवाहक गाडी आउजाउमा रोक लगाइदिएका छन् । सुरक्षाकर्मीले २४ अैं घण्टा पहरा दिएर ठूला गाडी पुल भएर नेपालतर्फ आउन रोक लगाएका हुन् ।
यसअघि २०७४ सालको साउनमा आएको बाढीले पुल धस्सिएको भन्दै त्यबेला पनि रोक लगाइएको थियो । फारवीसगंज–जोगवनी सडक मार्गमा पर्ने मिरगञ्ज पुल मर्मतको नाममा सवारी रोकिंदा ठूलो संकट आएको नेपालका उद्योगी व्यवसायीले बताएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने,‘‘विगतमा झैं अवरोध भएको छ । अहिले सिमानामा हाम्रोतिर आउनु पर्ने दुई हजार मालवाहक ट्रक र लहरीको जाम लागेको छ ।’’ घिमिरेले यो अवस्था नाकाबन्दीको बेला भएको अवरोधको झझल्को दिने जस्तै भएको सुनाए ।
यही पुल भएर भारत तथा तेस्रो देशबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य तथा वस्तु आयात हुन्छ । नेपालबाट उत्पादित वस्तुसामान निर्यात हुन्छ । तर, पुल मर्मतको नाममा अवरोध हुँदा नेपालतर्फको आयात र यताबाट हुने निर्यातमा ठूलो समस्या भएको मोरङ व्यापारा संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । भने,‘‘पुल चाँडो मर्मतका लागि कुटनीतिक पहल थाल्न हामीले नेपाल सरकारको पनि ध्यानाकर्षण गरेका छौं ।’’ मुन्दडाले यो समस्याले उद्योग र व्यवसायिक क्षेत्रलाई ठूलो नोक्सानी पुग्ने बताए ।
विगतमा पनि यस्तै समस्या आउँदा उद्योगी व्यापारीले बथनाहाबाट रिरुट गरेर भीमनगर हुँदै सुनसरीबाट नेपालतर्फ मालसामान ल्याउनु पर्ने बाध्यता थियो । यसरी सामान ल्याउँदा उद्योगी तथा व्यवसायीले अतिरिक्त ७० किलोमिटर दुरी पार गर्नुपर्छ । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडा भन्छन्,‘लागत खर्च मात्र करोडौं बढ्न पुग्छ । अतिरिक्त सात दिन समयसम्म कन्टेनर र मालवाहक गाडी नेपालतर्फ रहँदा थप दस्तुर बुझाउनु पर्छ । पुल सञ्चालनमा नआउँदा अतिरिक्त शुल्क अधिक बढ्दा ठूलो आर्थिक नोक्सानी हुन्छ ।’ उनका अनुसार रिरुट गरेर सुनसरीबाट नेपालतर्फ आउने मालवाहक गाडी फेरि विराटनगर भन्सार कार्यालय ल्याएर जाँचपास गराउनु पर्ने झन्झट छ ।
मिरगन्ज पुल भएर ५० टन तौलसम्मका मालवाहक कन्टेनर तथा गाडी आउने गरेका थिए । भीमनगरको साँघुरो बाटो छ । त्यताबाट चाहिएअनुसार माल ल्याउन कठन हुने उद्योगीको भनाइ छ । विराटनगर भन्सार कार्यालयले सम्बन्धित निकायलाई समस्याबारे जानकारी गराइएको जनाएको छ । सहज अवस्थामा तेस्रो देश र भारतबाट कन्टेनर दैनिक २ सय ५० जति मालवाहक गाडी विराटनगर भन्सारको यार्डसम्म आउँछन् । यो पुल ब्रिटिसकालमै बनेको हो । फलामको ट्रस्ट राखेर निर्माण भएको पुलमा यात्रुवाहक हलुवा सवारी साधन भने चल्न दिइएको छ ।
फलामको ट्रस्ट र पिलरबाट करिब एक सय वर्षअघि अंग्रेजको पालमा बनेको मिरगञ्ज पुलले नेपालतर्फ विराटनगर र भारतको अररिया बथनाहालाई स्थलगमार्गबाट जोडेको छ । यसको वैकल्पिक पुल निर्माणको लागि केही पश्चिम पिलर हाल्दै गरेपनि लामो समयदेखि बाँकी काम अघि बढ्न सकेको छैन ।