फाइल तस्बिर
गौरादहः प्रदेश नम्बर १ को सरकारका प्रवक्ता हिक्मत कार्कीले दशैंअघि प्रदेशको राजधानी र नाम टुुङ्गो लाग्ने बताएका छन् ।आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका उनले गृहनगर गौरादहमा पत्रकारसँग कुरा गर्दै प्रस्तावित केही नामहरूमध्येबाटै प्रदेशको नाम राखिने बताएका हुन् ।
उनले किरात, मेची, लिम्बुुवान, कोशी, सगरमाथा लगायतका नाम प्रस्तावको रूपमा आए पनि सबै पक्षको रायसल्लाह लिएरै मान्य हुने नाम प्रदेशले पाउने विश्वास दिलाए । नामसँगै राजधानीको विषय पनि चाँडै टुङ्गिने उनको भनाइ थियो ।
अहिले राजधानीका लागि आएका नाम धनकुुटा, धरान, इटहरी र विराटनगरमध्येबाटै एउटा घोषणा हुने भन्दै यसले चाँडै पूर्णता पाउने उनले स्पष्ट पारे । ‘राजधानीका लागि प्रदेशभित्रका नागरिकलाई हरेक दृष्टिकोणबाट उपयुक्त हुने स्थानको छनोट हुन्छ,’ मन्त्री कार्कीले भने ।
उनले रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री थप गरिने र संसदीय समितिका सभापतिले पनि दशैंअघि नै पूर्णता पाउने दाबी गरे ।