धरान : धरान–८ को वरगाछीस्थित स्टेप बाई स्टेप मोन्टेसरी स्कुलले पोषणसम्बन्धी एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । पोषण र खाद्यसम्बन्धी विद्यार्थीहरूको सङ्गठन (एन–स्यान्ड) सँगको सहकार्यमा विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा एन–स्यान्डका अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा रहेको १५ जनाको टोलीले विद्यालयका विद्यार्थी र अभिभावक गरी ८० जनाको पोषण जाँच गरेको प्रिन्सिपल अनु शाक्यले जानकारी दिइन् । सोही कार्यक्रममा उनीहरूले अभिभावकहरूका पोषणसँग सम्बन्धित जिज्ञासाहरूका जवाफ दिएका थिए । त्यस क्रममा प्रिन्सिपल शाक्यले स्वास्थ्य र विकासको एक मुख्य आधार पोषण भएको धारणा राखेकी थिइन् । ‘राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु र कम रोग लाग्नु हो’, उनले भनिन्, ‘उपयुक्त पोषण बालबालिकाको जीवनरक्षा, स्वास्थ्य र विकासका लागि उपयुक्त जग हो ।’ राम्रो पोषण पाएका बालबालिका समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र विश्वव्यापी सङ्कटहरूसँग लड्न समर्थ हुने धारणा पनि शाक्यले राखिन् ।
२०७२ सालमा स्थापना भएको सो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म पठनपाठन भइरहेको विद्यालयका निर्देशक निरज मास्केले जानकारी दिए । विद्यालयकी संयोजक बिनु शाक्यले विद्यालय पारम्परिक, प्लेवे र मोन्टेसरी विधिमा आधारित रहेको बताइन् । यी पाठ्यक्रमहरूले प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक सीपहरूको विकासका लागि मद्दत गर्ने निर्देशक मास्केले बताए । यहाँको शैक्षिक वातावरणमा बालबालिकाले आप्mनो क्षमता आपैmँ पत्ता लगाउने उनको भनाइ छ ।