संखुवासभा: जिल्लाको मकालु गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर विषय पढाई हुन्छ । तर यहाँका विद्यालयमा कम्प्युटर पढाइने गरेको भए पनि विद्यार्थीले भने अहिलेसम्म कम्प्युटर देख्न पाएका छैनन् ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा सुरु गरेको हो । कक्षा ६ देखि ८ सम्म अनिवार्य र ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा भनिए पनि विद्यार्थीहरुले अहिलेसम्म कम्प्युटर देख्न नपाएको मकालु गाउँपालिकाका शिक्षा अधिकृत बासु काइरालाले बताए ।

सरकारले विकासका पूर्वाधार विनानै विविध नीति बनाएका कारण विद्यार्थीहरुले समस्या भोग्नुपरेको विद्यार्थीहरुको गुनासो छ । गाउँपालिकाले भर्खरैमात्र निर्माण गरेका शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षाबारे कुनै कुरा उल्लेख गरिएको छैन ।
विद्यार्थी कम्प्युटर देख्न पाएका छैनन्
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालबाट कक्षा ६ देखि ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा अनिवार्य लागू गरेको भए पनि विद्यार्थीले कम्प्युटर देख्न नपाएको खाँदबारी नगरपालिकाका शिक्षा अधिकृत दिपकमणी घिमिरेले बताए । ‘यहाँका अधिकांश विद्यार्थीले कम्प्युटर देख्न पाएका छैनन् ।’ उनले भने, ‘अनिवार्य गरिएको शिक्षामा प्रविधि दिन जरुरी छ । पाठ्यक्रम दिएर मात्र पुग्दैन।’

अधुरो शिक्षा नीति
सरकारले ल्याएरको अधुरो शिक्षा नीतिको मारमा दुर्गम तथा बिकट विद्यार्थी पर्ने गरेको त्यसका लागि शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेको खाँदबारी नगरपालिका स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरवहादुर राईले बताए । ‘शिक्षामा विद्यार्थी अनिवार्य कम्प्युटर बनाउने नीति सरकारले ल्यायो ।’ उनले भने, ‘विद्यार्थीलाई कम्प्युटर आधारभूत ज्ञान सिकाइन्छ । तर, विद्यालयमा न कम्प्युटर छ । न विद्यार्थीले शिक्षक पाएका छन् ।’

स्थानीय तहले समेत हेरेनन्
स्थानीय तहले पनि शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षा व्यवस्था गर्ने भनेको भए पनि विद्यालयहरूमा कम्प्युटर ने नभएकाले कसरी कम्प्युटर शिक्षालाई प्रभावकारी ढंगले पढाई गर्ने भन्नेमा समस्या रहेको खाँदबारी स्थित बागिश्री माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्नी प्रसाद घिमिरेले बताए । ‘जिल्लाभर रहेका विद्यालयमा कम्प्युटर शिक्षा पढाई हुन्छ तर विद्याथीले कम्प्युटर देख्न पाउँदैनन् ।’ उनले भने, ‘कम्प्युटर शिक्षालाई कि अनिवार्य नगर्नु पर्ने कित विद्यालयमा पढाई राम्रो व्यवस्था हुनुर्पयो ।’

केही विद्यालयमा मात्र कम्प्युटर
जिल्लाभर रहेका स्कुलहरूमा अपवाद बाहेक विद्यालयमा कम्प्युटर नभएको कारणले विद्यार्थीलाई कम्प्युटर शिक्षाको विषयमा पढाई हुने गरेको भए पनि व्यवहारिक रुपमा पढाउन समस्या रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई संखुवासभाले जनाएको छ ।


विषय शिक्षकको कमी
जिल्लाका सबै सामुदायिक तथा सरकारी बिद्यालयहरूमा अनिवार्य कम्प्युटर विषयको अनिवार्य लागू गरेको भएपनि विषय शिक्षक नहुँदा पढाइमा समस्या भएको छ । आधारभूत तहको शिक्षामा अनिवार्य कम्प्युटर विषय बनाएको भए पनि नेपाल सरकारले विषय शिक्षकको दरबन्दी व्यवस्था नगरेको सभापोखरी गाउँपालिकाका प्रमुख रत्न सुब्बाले बताए । ‘कम्प्युटर शिक्षाको अनिवार्य सरकारले बनायो ।’ उनले भने,‘त्यो अनिवार्य गरिएको शिक्षामा विषय शिक्षकको दरबन्दीको व्यवस्था गरेको छैन ।’