इटहरीः धरान १६ को नौलो बस्ती छोएर बग्ने सर्दु खोलाले स्थानीयलाई सधैँ दुःख दिन्थ्यो । दुःख पाउनेमा स्थानीय कमला लिम्बू पनि थिइन् । लिम्बूका अनुसार पानी परेको रात सर्दुले उनीसँगै धेरैको निद्रा बिथोल्थ्यो । सुकुम्बासी बस्तीका स्थानीयहरू रातभर जाग्राम बस्थे । अझ बालबालिका र वृद्धवृद्धालाई त झनै तनाव थियो ।

तर, गत वर्ष वडाध्यक्ष दिलकुमार गिरीको सक्रियतामा मेयर तारा सुब्बाले खोला बाँध्ने कार्यक्रम ल्याए । ४३ लाख रकम छुट्याइयो । यो रकमले २ सय ६० मिटर क्षेत्रको खोला किनारमा बलियो पर्खाल बनाइयो । ११ फिट गहिरो पर्खाल जमिन मुनि मात्रै ६ फिट गाडिएको थियो । चौडाइ झन्डै एक मिटर हाराहारी छ । फाउन्डेसन पनि २ मिटर १० सेन्टिमिटर चौडा छ ।

dharan basti (3)


यही कारणले यस पटकको बर्खा र भेलमा धरानको नौलो बस्तीतिर खोला सोझिएन । खोला आफ्नै मूल प्रवाहमा बग्यो । व्यवस्थित तटबन्धले बस्ती सुरक्षित भयो । बस्तीका ३ सय ८७ घरमा त्रास अन्त्य भएको वडाध्यक्ष गिरी बताउँछन् । भन्छन्, ‘यो सानो कामले एउटा बस्तीको अस्तित्व जोगाएको छ । स्थानीय खुशी छन् ।’

यस पटक बजेट नछुट्याइँदा स्थानीय आक्रोशित
गत वर्ष २ सय ६० मिटर खोला क्षेत्रमा गरिएको तटबन्धले धेरै घरलाई जोगाएको यो परियोजनामा यस पटक भने बजेट छुट्याइएन । वडा नम्बर १६ क्षेत्रमा १ हजार ५ सय ८० मिटर क्षेत्रमा सो खोला बस्ती छोएर बग्छ । यसरी बगेको खोलाले सयौँ परिवारलाई समस्यामा पार्ने स्थानीय बताउँछन् ।

गत वर्ष खोला बाँधेर सुरक्षित महसुस भएकोमा यस पटक भने काम नभएर समस्या भएको स्थानीय बालकुमारी मगरले बताइन् । उनले भनिन्, ‘एकातिर मात्रै खोला बाँधेको छ तलका घरहरू नजिकै खोला छ । यसपटक बाँधेन ।’ खुकुरी उत्पादक राजु रसाइली भन्छन्, ‘खोलाको व्यवस्थित तटबन्धको काम वडा १६ को नौलो बस्तीमा शुरु गरियो तर पूरा गरिएन । आधा काम मात्रै भयो ।’

यस पटक तटबन्ध होइन, पार्कमा पैसा छुट्याइयोः वडाध्यक्ष
यता वडाध्यक्ष गिरी भने आफूले वडाको सबै क्षेत्रमा नै तटबन्धको काम गर्ने कुरा राखे पनि यस पटक बजेट नपरेको बताउँछन् । ‘पोहोर मेयर तारा सुब्बाले यसैगरी सबै खोला छेउका बस्ती बाँधेर धरानका सबै खोला किनारमा ५ वर्षमा काम सक्ने कुरा गर्नुभएको थियो’, वडाध्यक्ष गिरीले तटबन्ध क्षेत्रमा उभिएर भने, ‘तर यस पटक इन्जिनियरहरूले यो बर्खामा के हुन्छ हेरेर मात्रै अरु लगानी गर्ने कुरा गर्नुभएको छ । हामीलाई चित्त बुझाउन त्यसो भन्नुभएको हो ।’

dharan basti (2)-1

वडाध्यक्ष गिरीले यो क्षेत्रमा स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्क निर्माण गर्न भने बजेट छुट्याएको बताए । पोहोर ४३ लाखले बस्ती जोगाएको क्षेत्रमा रहेको खालि स्थानमा पार्क बनाउन २५ लाख बजेट विनियोजन भएको उनले बताए ।

तर, यहाँको जस्तै वडाका अन्य बस्ती जोगाउन तटबन्धका कामहरूमा भने बजेट नदिइएको उनले बताए । उनले भने, ‘हाम्रो वडामा २ करोड मात्रै बजेट लाउने हो भने खोला छुने सबै बस्ती जोगिन्छन् र दर्जनौँ बिघा