धरानः धरानका महिला अधिकारकर्मीहरूले विभिन्न हिंसापीडित तथा सहाराविहीन महिलाहरूको लागि हरेक स्थानीय तहमा पुनर्स्थापना गृह स्थापना गर्नुपर्ने माग अघि सारेका छन् ।

सडकबाट उद्दार गरिएका एक मानसिक रोगी युवतीलाई औषधी र कुरुवा राख्न समस्या भोगिरहेका यहाँका अधिकारकर्मीहरूले त्यस्ता महिलाहरूको लागि आकस्मिक कोषको पनि आवश्यकता खड्किएको बताएका छन् । महिला सञ्जाल धरानले मङ्गलबार सडकमा अलपत्र अवस्थाबाट एक युवतीको उद्दार गरेको थियो । उनीहरूले प्रहरीको सहयोगमा ती युवतीलाई उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पु¥याएका थिए ।

ती युवतीको लागि कुरुवा मान्छे राख्न र औषधीको जोहो गर्न निकै समस्या भएको सञ्जालको भनाइ छ । ‘यो समस्या अहिले मात्र भएको होइन, सधै हिंसापीडित महिलाहरूलाई उद्दार गरेपछि हामीले भोग्नुपरिरहेको छ,’ सञ्जालकी संस्थापक अध्यक्ष गंगा बरालले भनिन्, ‘त्यसैले सहाराविहीन, हिंसापीडित महिलाहरूको औषधी उपचारको खर्च बेहोर्ने गरी कोष चाहिन्छ । उनीहरूलाई उपचारपछि घरपरिवार र समाजमा पुनर्स्थापना गर्नुअघि केही समय राख्नलाई पुनर्स्थापना गृह चाहिन्छ ।’

हिंसापीडित महिलाहरूको लागि पुनर्स्थापना गृह आवश्यक भएको यहाँका अधिकारकर्मीहरूले धेरै अघिदेखि बताउँदै आए पनि अहिलेसम्म व्यवस्थापन हुन भने सकेको छैन । चालु आर्थिक वर्षका लागि धरान उपमहानगरपालिकाले १ लाख रुपैयाँ बजेट पुनर्स्थापना गृह शीर्षकमा विनियोजन गरे पनि आवश्यक कार्यविधि नभएर कसरी सदुपयोग गर्ने भन्ने समस्या भएको अधिकारकर्मीहरू बताउँछन् ।

IMG_20180911_111528

सञ्जालले धरानको छाताचोकस्थित सडकमा अलपत्र अवस्थामा एक मानसिक रोगी युवतीको उद्दार गरेर मङ्गलबार बीपी प्रतिष्ठान लगेका थिए । अहिले ती युवतीको मानसिक विभागको वार्डमा उपचार भइरहेको छ । ती युवतीले आफ्नो ठेगाना पथरीको सरस्वती स्कुल नजिक भएको बताएकी छिन् निशा राई बताउने उनी करिब ३० वर्षकी छिन् ।

प्रतिष्ठानले ती युवतीलाई उपचार निःशुल्क गरिदिए पनि औषधी किन्न र कुरुवा बस्न गाह्रो भएको सञ्जालकी अध्यक्ष सबिता राईले बताइन् । उनले भनिन्, ‘अहिले इलाका प्रहरी कार्यालयले महिला प्रहरी खटाइदिएर केही सजिलो भएको छ, उसको आफन्तहरू नै भेटिएन । प्रहरीले सहयोग नगरिदिएको भए अरु मान्छे खोजेर पैसा दिएर भए पनि राख्नुपर्ने हुन्थ्यो ।’ अहिले निद्रा लाग्ने मात्र औषधी प्रयोग भइरहेको भन्दै उनले थप औषधी खरीद गर्नुपरेमा आर्थिक समस्या पनि हुने बताइन् ।