तस्बिरः महेश्वर कार्की
इटहरीः इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी, पर्ती जग्गा खोजी गर्न गठित समितिको बैठकले जग्गा खोजी अभियान तीव्र बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवम् वडा नम्बर १३ का अध्यक्ष शिवनारायण चौधरीले जग्गा खोजी कार्यलाई तीव्रताका साथ अघि बढाउने जानकारी दिए ।
उनका अनुसार नापी कार्यालयबाट नगरभित्र रहेका विभिन्न स्थानका नक्सा ल्याउने तयारी भएको भन्दै अब व्यवस्थित र उपलब्धिमूूलक ढङ्गले जग्गा खोजी गरिने स्पष्ट पारे । ‘नक्सा प्राप्त भएपछि प्राविधिकसहित सबै वडामा पुगी अनुुगमन गरिन्छ,’ उनले भने ।
इटहरीका विभिन्न दलका प्रतिनिधि, नागरिक समाज र सम्बन्धित पक्षसँगको सहकार्यमा जग्गाको खोजी गरिने जनाइएको छ । उनले सबै क्षेत्रका व्यक्तिसँगको छलफलपछि गुमेको नगरको जग्गा प्राप्त गर्न सहज हुने बताए । वडावडामा गरिने छलफल र परामर्शबाट सार्वजनिक, पर्ती, ऐलानी जग्गा कहाँ कति छ भन्ने थप जानकारी प्राप्त हुने समितिले अपेक्षा गरेको छ ।
कति छ इटहरीमा सार्वजनिक, पर्र्ती, ऐलानी जग्गा ?
यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी पर्ती जग्गा खोजबिन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन बुझाइसकेको छ । सो समितिले बुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९ सय ९५ बिघा ६ कठ्ठा डेढ धुर जग्गा ऐलानी, पर्ती रहेको छ ।
साबिकको इटहरीमा २ सय ३० बिघा ७ धुर, खनारमा ३ सय २६ बिघा १९ कठ्ठा ११ धुर, एकम्बामा १ सय ७३ बिघा १६ कठ्ठा ११ धुुर, पकलीमा १ सय २२ बिघा ६ कठ्ठा ५ धुर र हाँसपोसामा १ सय ४१ बिघा १५ कठ्ठा १५ धुर जग्गा रहेको छ ।
स्थानिय सरकारले अख्तियारी दिएकाे खण्डमा हरेक वडामा रहेका कयाैं सार्वजनिक जग्गा अाफुले एक हप्तामै पत्ता लगाइ दिने जग्गा खाेजि गर्ने समितिका उप संयाेजकसमेत रहेका नगरकर्मचारी गायत्री लम्साल बताउँछन् । उनि भन्छन्र 'इटहरीकाे सार्वजनिक जग्गाले हरेक वडा कार्यालयकाे भवन निर्माण, हरेक वडामा पार्क र खेलकुद पूर्वाधार बनाउन पुग्छ ।'