विर्तामोडः कछुवा संरक्षण केन्द्र, शहीद उद्यान र पोखरीमा नौका बिहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यानमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको उद्यानमा सङ्घीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा व्यायामशाला निर्माण गरिएको हो । पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सङ्घ र प्रदेशले उद्यानमा गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेका थिए ।
सोही बजेटमध्ये रु सात लाखको लगानीमा व्यायामशाला निर्माण गरिएको सुखानी स्मृति उद्यानका व्यवस्थापक पुष्प तिवारीले बताए । प्रायः उद्यान घुम्न र वनभोज खानका लागि दिउँसो मात्र पर्यटक आउने उद्यानमा यतिबेला व्यायामशालामा शारीरिक व्यायाम गर्नका लागि बिहानैदेखि भीड लाग्न थालेको उनको भनाइ छ ।
शान्त र फराकिलो ठाउँ भएका कारण एक महिनाअघि मात्र स्थापना भएको व्यायामशालामा दैनिक ३० देखि ४० जना आउने गरेका छन् । व्यायाम गर्न आउनेमा युवादेखि ज्येष्ठ नागरिकसम्म रहेको स्थानीयवासी लवकुश गौतमले बताए ।
नमूना सामुदायिक वनभित्र रहेको २४।४ हेक्टरमा रहेको उद्यानमा व्यायामशालासँगै सङ्घ र प्रदेशको बजेटबाट उद्यानभित्र बाल उद्यान, विश्रामस्थल, वनक्षेत्र वरिपरि काँडेतारको घेराबारा, कछुवाको प्रतिमा, पोखरीमा ढुङ्गे पर्खाल, चमेनागृहलगायतका भौतिक संरचना निर्माण गरिएको सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले बताए।
विसं २०५८ देखि प्रतिष्ठान निर्माणमा दु्रतगतिमा लागेको उद्यानमा हालसम्ममा रु पाँच करोडभन्दा धेरै लगानी भइसकेको उनले बताए । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट दुई किलोमिटर र अर्जुनधारा नगरपालिकाबाट सोही दूरीमा रहेको उद्यानमा दैनिक तीन सय बढीले अवलोकन गर्दै आएका छन् ।
सांसद पवित्रा निरौला खरेल, प्रदेशसभा सदस्य बिर्ख प्रधान, एकराज कार्कीदेखि पूर्व सांसद सिपी मैनाली, विश्वेश्वरा दाहाल, प्रेम गिरीलगायतले सांसद विकास कोषको बजेटबाट उद्यानलाई उत्कृष्ट गन्तव्यस्थल बनाउन लगानी गरेका छन् ।
तत्कालीन झापा विद्रोहका शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको शालिकसमेत रहेको यस ऐतिहासिक स्थानलाई पूर्वको नमूना पर्यटकीयस्थल बनाउन अर्जुनधारा नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख हरि रानाले बताए । उनले भने, “अर्जुनधारा नगरमा महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधाराधाम र तत्कालीन झापा विद्रोहसँग जोडिएको सुखानी उद्यान अन्य पर्यटकीयस्थलभन्दा धेरै महत्व बोकेका छन् । यस क्षेत्रको पर्यापर्यटनमा हाम्रो विशेष भूमिका हुन्छ ।”
विसं २०५६ मा वन विभागबाट स्वीकृति लिई पर्यटकीय स्थान बनाउन लागिपरेको उद्यानसम्म पुग्नका लागि पूर्वपश्चिम राजमार्गदेखि फराकिलो कालोपत्र गरेको सडक छ । हाल उद्यानमा दृश्यावलोकन स्तम्भ, स्वीमिङपुल बनाउनका लागि योजना अघि सारिएको अध्यक्ष घिमिरेले जानकारी दिए। उद्यानमा शहीदबारे र कुछुवा संरक्षण केन्द्रबारे अध्ययनका लागि नेपाल, भारत, भूटान र बङ्गलादेशदेखिका विद्यार्थी आउने गरेका छन् ।
खानेपानी, बिजुली, शौचालयलगायतको राम्रो व्यवस्था भएको उद्यानको वरिपरि ससाना पसलहरु प्रशस्त खुलेका छन् । यहाँ आउने पर्यटकले उनीहरुको रुचिअनुसारको नास्ता र खाना खाने गरेको उद्यानका व्यवस्थापक तिवारीले बताए । यहाँ आउने पर्यटकलाई सुरक्षा प्रदानका लागि प्रवेशद्वारमै प्रहरीको बिटसमेत राखिएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि उद्यानले पर्यटकलाई आकर्षण गर्न व्यायामशाला पनि उपयोगी हुने नगरप्रमुख रानाको भनाइ छ ।