सङ्खुवासभाः राहत शिक्षकहरूको शैक्षिक हड्तालका कारण सङ्खुवासभामा रहेका सामुदायिक विद्यालयहरूको पढाइ प्रभावित भएको छ ।आफूहरूलाई पनि दरबन्दीका शिक्षकसरह व्यवहार गरिनुपर्ने माग राख्दै केन्द्रको सर्कुलर अनुसार जिल्लाका राहत शिक्षकहरूले गरेको आमहड्तलका कारण जिल्लाका सामुदायिक विद्यालयहरूमा पढाइमा प्रभावित भएका हो ।
राहत शिक्षकहरूको आन्दोलनका कारण आज जिल्लाका सामुदायिक विद्यालयहरू ठप्प भएका छन् । यता, जिल्लाको सरस्वती मावि चैनपुर हिटीटोल र सो क्षेत्रका राहत शिक्षकहरूले परीक्षाको समयमा पनि काम बहिष्कार गरेर बाहिरिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले ४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ । सो घोषणालाई जिल्लाका राहत शिक्षकहरूले समर्थन गरेका हुन् ।
समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई स्थायी गर्नका लागि सङ्घीय शिक्षा ऐनमा नीतिगत व्यवस्था गर्नुपर्ने मुख्य माग राखेको छ । त्यस्तै, स्थायी प्रक्रियाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरूको स्वामित्व निर्माणाधीन ऐनले ग्रहण गर्नुपर्ने, शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरूको हदबन्दी हटाइनुपर्ने माग राखिएको छ ।
शिक्षकबीचको सबै खाले विभेदको अन्त्य गर्नुपर्ने लगायतका मागहरू रहेको नेपाल राहत शिक्षक तदर्थ समिति सङ्खुवासभाका अध्यक्ष देवराज गिरीले बताए । सङ्खुवासभामा २ सय ९५ जना राहत शिक्षकहरू रहेका छन् ।