बेलबारीः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयले आज गेटमा ताला लगाएर र प्रहरी परिचालन गरेर पठनपाठन गराएको छ । राहत शिक्षकहरूले विभिन्न माग राखी विद्यालय बन्द गर्ने क्रममा सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयमा असहज स्थिति उत्पन्न हुँदा गेटमा ताला लगाउनुको साथै प्रहरी परिचालन गर्नुपरेको बताइएको छ ।
राहत शिक्षकहरू आजसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत शिक्षकहरूले सुकुना माविमा पढाइ भइरहेको थाहा पाएपछि सो विद्यालय बन्द गर्न गएका थिए । आन्दोलनरत शिक्षक पुग्दा गेटमा ताला लागे पनि विद्यालयमा पढाइ भने भइरहेको थियो ।
‘गेटमा ताला लागे पनि विद्यालयभित्र पठनपाठन भइरहेको थियो’, राहत शिक्षक सङ्घर्ष समिति मोरङका सदस्य बासु बरालले भने, ‘हामीले गएर आजको दिन विद्यालय बन्द गर्न माग गर्यौं ।’
गेटमा प्रहरी तैनाथ
‘गेटमा नै प्रहरी राखेर विद्यालयले पठनपाठन हुँदै थियो,’ बरालले भने, ‘हामी भित्र जान्छौँ भन्दा समेत भित्र जान दिइएन ।’ गेटमा ताला लगाएर विद्यार्थीलाई आवतजावत गर्न समेत नदिएर पठनपाठन गरेको आन्दोलनरत शिक्षकको आरोप छ ।
गेटबाहिर रहेका आन्दोलनरत शिक्षकहरू भए ठाउँमा आएर प्रधानाध्यापक लक्ष्मीप्रसाद श्रेष्ठले गाली गर्न थालेको शिक्षकको आरोप छ ।
प्रधानाध्यापकले गुण्डा शिक्षक भनेको आरोप
राहत शिक्षक सन्तोष फुयालले भने, ‘प्रधानाध्यापक लक्ष्मीप्रसाद श्रेष्ठले हामीलाई गाली गर्नुभयो । विद्यालयमा जाँदा हामीलाई गुण्डा शिक्षक भनी गाली गर्नुभयो ।’ प्रहरी प्रशासन लगाएर शिक्षकका मुद्धा ओझेलमा पार्न खोजेको बेलबारी राहत शिक्षक समितिका अध्यक्ष लीलाप्रसाद आचार्यले आरोप लगाए ।
शिक्षक सङ्गठन मोरङका अध्यक्षसमेत रहेका विद्यालयका प्रअ श्रेष्ठले राहत शिक्षकलाई दुव्र्यवहार गरेको शिक्षकहरूले आरोप लगाएका छन् । राहत शिक्षकले प्रधानाध्यापक श्रेष्ठको राजीनामा माग्दै नारा जुलुससमेत गरेका थिए । सङ्घीय शिक्षा ऐनमा राहत शिक्षकहरूको स्थायी व्यवस्थापन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको शिक्षकहरूको भनाइ छ । यस विषयमा जानकारी लिन प्रअ श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।