इटहरीः नेकपा इटहरीले उपमहानगरपालिकाको बचाउ गरी नगरभित्र लगाइएका धेरै कर प्रगतिशील भएको जनाएको छ । केही विषयमा मात्र सामान्य संशोधन गर्न उपमहानगरको ध्यानाकर्षण गराइएको नेकपाले जनाएको छ ।
नेकपा इटहरीले बिहीबार नगरप्रमुखलाई दिएको सुझाव पत्र दिँदै नगरको धेरै कर जनमुखी रहेको र केही सामान्य विषयका त्रुटिलाई भने संशोधन गर्नुपर्ने माग राखेको छ । सुझाव पत्रमा सो दलका नेता रेवती घिमिरेले हस्ताक्षर गरेका छन् ।

नेकपाले आर्थिक ऐन २०७५ मा व्यवस्था गरिएको कतिपय विषयमा बजारमा सुनिएको जस्तो भ्रम नभएको जनाएको छ । वैज्ञानिक र प्रगतिशील कर व्यवस्था हुँदाहुँदै अतिरञ्जित तरिकाले जनमाझमा अफवाह फैलाएको ठहर नेकपाले गरेको विज्ञप्तिमा उल्लेख छ ।
धेरै विषयमा कर जनमुखी हुँदाहुँदै पनि सामान्य मानवीय त्रुटि मात्र जनमानसमा रहेको र उक्त भ्रम चिर्न नगरपालिकाले मिडियामार्फत् आफ्नो कुरा समेत राख्नुपर्ने सुझावसहित नगरपालिकालाई ध्यानाकर्षण गराएको नेता घिमिरेले प्रदेश पोर्टललाई बताए ।

41688179_1757297144387600_7529169509173690368_n