विराटचोकः आन्दोलनरत राहत शिक्षकलाई ‘गुण्डा’ भनेको आरोपमा आलोचित भएका सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले आफूले शिक्षकलाई नभई शिक्षकको प्रवृत्तिलाई त्यसरी सम्बोधन गरेको जनाएका छन् ।

बिहीबार विद्यालय बन्द गर्न गएका आन्दोलनरत राहत शिक्षकहरूलाई श्रेष्ठले गुण्डा तथा शिक्षकको नाममा कलङ्क भएको भनी तुच्छ गाली गरेको आरोप आन्दोलनरत शिक्षकले लगाएका थिए । यस विषयमा उनीसँग जानकारी लिँदा आफूले शिक्षकलाई नभई शिक्षकले देखाएको व्यवहारलाई त्यस्तो संज्ञा दिएको उनले बताए ।

विद्यालयमा आएर आफैँ घण्टी बजाएर विद्यार्थीलाई बाहिर निकाल्ने खालको काम आन्दोलनरत शिक्षकहरूले गरेको श्रेष्ठले आरोप लगाएका छन् । शिक्षक सङ्गठन मोरङका अध्यक्षको विद्यालय बन्द गर्ने भन्दै होहल्ला गरेर आएका कारण प्रशासनले आफैँ सुरक्षा दिएको उनले बताएका छन् । आफूले सुरक्षाकर्मी नबोलाए पनि आन्दोलनरत शिक्षकको होहल्ला सुनेर प्रहरी प्रशासन आएको उनको भनाइ छ ।

विद्यालय बन्द गर्ने केन्द्रको निर्देशन नआएकाले बन्द नगरिएको श्रेष्ठले बताए । उनले शैक्षिक क्षेत्र बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नु नहुने बताए । ‘बन्दकर्ता जोसुकै भए पनि विद्यार्थीमाथि खेलबाड गर्नु हुँदैन,’ श्रेष्ठले भने ।