इटहरीः वडाध्यक्षले नै प्रमाणित गरिदिएपछि इटहरी उपमहानगरपालिकाको ५ नम्बर वडामा सार्वजनिक, पर्ती तथा ऐलानी जग्गा बिक्री हुने गरेको छ । व्यक्तिगत लाभ आर्जन गर्ने मनसाय राखेर वडाध्यक्ष रोहबरमा बसेर वडावासीले उपभोग गरिरहेको तर जग्गा प्रमाण पूर्जा (लालपूर्जा)ं नबनेको जग्गा बिक्री हुने गरेको हो ।

इटहरी उप–महानगरपालिका–५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले प्रमाणित तथा रोहबर सम्हाल्ने गरेपछि व्यक्तिको भोगाधिकार मात्रै भएको जमिन ‘भोगछाडपत्र’ गराउँदै बिक्री हुने गरेको पाइएको छ । यसअघि जनता बस्तीको सुकुम्बासी टोलमा यस्तो जग्गा बिक्री हुने गरेको थियो । त्यसको कागजात लुकाइएको भए पनि पछिल्लो पटक इटहरी–५ को नरशोभा टोलस्थित सुकुमारी पैनीको जग्गा १२ लाख ३० हजार मूल्य कायम गरी बिक्री गरिएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका निवासी नन्दलाल खनालले इटहरी–५ का अशोक राईलाई पैनीले चर्चेको सार्वजानिक जग्गा बिक्री गरेका हुन् । जसको प्रमाणित वडाध्यक्ष कार्कीले गरिदिएका छन् ।

साढे ९ धुर सार्वजनिक जग्गाको मूल्य १२ लाख ३० हजार कायम गरिएको छ । स्थानीय ५ जना व्यक्तिलाई साक्षी राखिएको छ । तत्कालीन इटहरी गाउँपञ्चायतले २०४३ पुस २० गतेको पत्र सङ्ख्या २०४३÷०४४ च.नं. ५३९ अनुसार स्रेस्ता पूर्जाको सूचना जारीसँगै स्रेस्ताको लागि दर्ता मात्रै भएको छ । तर प्रमाण पूर्जा नबनेको इटहरी–५ (घ) कित्ता नम्बर १६९० मा खनालले इँटाको गारो र टिनको छानो लगाएर घर बनाएका थिए ।

स्थानीय अशोक राईले आफ्नै पत्नी गंगा राईलाई सनाखत गराएर स्थानीय नरबहादुर श्रेष्ठ, हेमसागर तिम्सिना, चुडामणि भट्टराई, प्रकाशचन्द्र बस्नेत, हरिप्रसाद तिम्सिनालाई साक्षी रोहबर राखेर जग्गा खरिद गरेको देखिन्छ ।

स्थानीय तह गठनसँगै स्थानीय सरकारको हैसियतले आफ्नो क्षेत्राधिकारभित्रको सम्पत्तिको संरक्षण, रेखदेख, मर्मत तथा प्रबन्ध मिलाउनुपर्ने स्थानीय तह शासन ऐन तथा नियमावलीमा व्यवस्था छ । त्यो व्यवस्थाको परिच्छेद–१३ को २ मा उल्लेख भएअनुसार गाउँपालिका तथा नगरपालिकाले सामुदायिक तथा सार्वजानिक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै बेहोरामा स्वामित्व हस्तान्तरण गर्न वा लिजमा दिन समेत पाइँदैन । यस्तो सम्पत्तिमा नेपाल सरकारको स्वीकृतिबिना स्थानीय तहले कुनै अधिकार राख्न नसक्ने स्पष्ट प्रावधान तोकिएको छ । वर्षेनी यस्तो सम्पत्तिको अद्यावधिक गर्नुपर्ने कर्तव्य स्थानीय सरकारको रहन्छ ।

तर, यो ऐन तथा नियमावलीलाई लत्याउँदै वडाध्यक्ष कार्कीले तत्कालीन गाउँ पञ्चायतका प्रमुख रामकुमार सुब्बाले दिएको कागजातलाई आधार मान्दै पूर्जा बिनाकै जग्गा बिक्री गराउने स्वीकृति दिन प्रमाणित गरिदिएका हुन् ।

जग्गा बिक्रीका लागि आधिकारिक छाप तथा हस्ताक्षर प्रयोग गरिदिएका वडाध्यक्ष कार्कीले यस्तो जमिन इटहरीमा बिक्री हुने गरेको र आफूले प्रमाणित गरिदिएको बताएका छन् । उनले भोगचलन गर्दै आएका व्यक्तिले त्यही स्वामित्व हस्तान्तरण गर्ने भएपछि जनप्रतिनिधिको हैसियतमा प्रमाणित गर्नु आफ्नो कर्तव्य भएको बताए ।

41691822_274190703223952_6296997568668762112_n