इटहरीः उच्च शिक्षासंगै रोजगारका लागि नेपाली युवाहरु विदेशीन बाध्य छन् । कतिपय रहरले विदेशिएका छन् त कति पय बाध्यताले विदेशिएका छन् । जे जस्तो परिस्थितीका कारण विदेशिए पनि उनिहरुलाई नेपाल देश प्रतिको माया मात्र नभई आफ्नो देशको भाषा, संस्कृति र नेपाली समाजमा रहेको संस्कारलाई बिर्सनपनि सक्दैनन् । उनिहरुमा विदेशमै जन्मिएर हुर्कदै गरेका आफ्ना बालबच्चाहरुले पनि आफ्नो देशको भाषा, संस्कृति र संस्कार नभुलुन भन्ने उत्तिकै चिन्ता पनि हुने गरेको पाइएको छ । ग्लास्गो स्कटल्याण्डको ग्लास्गोमा बसोबास गर्ने नेपाली अभिभावकहरुलाई सोही चिन्ताले सताएपछि साताको एक दिन अर्थात प्रत्येक शनिवार दिनभरी आफ्ना बालबच्चाहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सिकाईका लागि नेपाली पाठशाला नै संचालनमा ल्याएका छन् ।

82288163_500462207246923_6516156134737313792_n
२०१९ को सेप्टेम्बर महिनाबाट संचालनमा ल्याइएको पाठशालाबाट ५० जना बालबच्चाहरुले निःशुल्क नेपाली भाषा, संस्कृति र संस्कारको शिक्षा पाईरहेका छन् । सो पाठशाला नेपाली बालबच्चाहरुका लागि मात्र फलदायी नभई काममा व्यस्त हुने नेपाली अभिभावकहरुका लागि सातामा एक पटक भेटघाट हुने सुःख दुःखका कुरा साटासाट मात्र नभई अनुभव आदनप्रदान र सिकाईका कुरा एक आपसमा बाड्ने गतिलो थलो बनेको नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडका सचिव केबल पोख्रेलले बताए ।
उनका अनुसार नानीबाबुलाई उपहार नदिए एकछिन वा केही दिन रुन्छन् तर संस्कार नदिए जीवनभर रुनेछन् भन्ने कुरालाई मूल मर्म बनाएर तसर्थ संस्कार सहितको शिक्षा अभियानलाई निरन्तरता दिईरहेको छ ।
नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडका अध्यक्ष रामप्रसाद कडेलका अनुसार प्रत्येक साताको शनिवार संचालन हुने पाठशालामा नेपाली भाषा, संस्कृति , संस्कार मात्र नभई नेपालमा रहेको सगरमाथा, गौतमबुद्ध, नेपाली झण्डा, राष्ट्रिय जनवार,प्रसिद्ध धार्मिक स्थलहरुका बारेमा पनि पढाईने गरिएको छ ।

76181459_2395329890679890_3545709280550191104_n
नेपालबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीहरुसंग स्कटल्याण्डमा जन्मिएर हुर्किएका सोही उमेर समानका विद्यार्थीहरु भाषाकै कारण एक अर्कामा घुलमिल हुन नसकेको पाइएपछि नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको आह्रवानमा सबै सदस्यबाट आर्थिक सहयोग जुटाएर पाठशाला थालिएको अध्यक्ष कडेलले बताए । पाठशाला संचालनमा आएदेखि यता सबै उमेर समूहका विद्यार्थी तथा बालबच्चाहरु एक आपसमा मज्जाले घुलमिल हुन थालेको संस्थाका सचिव तथा पाठशालाका शिक्षक केबल पोख्रेलले बताए । पढाईको अलवा सो पाठशालामा विद्यार्थीहरु बीच चित्रकला, बादविवाद प्रतियोगिता पनि संचालन हुने गरेको शिक्षक केशब खरेलले बताए ।
पाठशालाबाट नेपाली भाषा ,संस्कृति र संस्कार सिकेका नेपाली बालबच्चा र स्कटल्याण्डका विदेशी बालबच्चाहरु बीच एक अर्काको भाषा, संस्कृति र संस्कार जान्ने बुझ्ने कार्यपनि हुन थालेको पाठशालाका अर्का शिक्षक अर्जुन अर्यालले बताए । सो पाठशालामा ५ जना शिक्षकले निःशुल्क बालबच्चाहरुलाई अध्यापन गराउदै आएका छन् ।

82431184_479612779660355_1925320546149466112_n
संस्थाका सचिव तथा शिक्षक पोख्रेलका अनुसार अभिभावकका लागि आउने महिनाबाट सोही पाठशालाबाट कम्प्यूटर शिक्षा प्रदान गर्ने योजना छ । पाठशाला संचालनका लागि स्कटल्याण्डमा रहेको क्याउन्सिल र बिभिन्न संघ संस्थाहरुबाट पनि आवश्यक सहयोग प्राप्त भईरहेको सचिव पोख्रेलले बताए । नेपाली शैक्षिक सत्र अनुसार नै नयाँ साल २०७७ को नयाँ शैक्षिक क्यालेण्डर र अभ्यास पुस्तिका(कापी) संस्थाले नै प्रकाशन गर्ने योजना पनि रहेको सचिव पोख्रेलले बताए । सो पाठशालामा नेपाली बर्णमाला पढाईन्छ । त्यसका अलवा नेपाली संस्कृति , संस्कार लगायतका सामाग्रीहरु समेत संकलन गरेर विद्यार्थीहरुलाई पढाइन्छ । विद्यार्थीहरुलाई आवश्यक पाठ्य पुस्तक र स्टेशनरी समाग्रीहरु बर्षेनी निःशुल्क रुपमा उपलब्ध गराइने सचिव पोख्रेलले बताए । शनिवार बाहेक अरु सबै दिन नेपाली बालबच्चाहरु स्कटल्याण्डको ग्लास्गोका बिभिन्न शैक्षिक प्रतिष्ठानमा त्यहाँको पाठ्यक्रम अनुसार विद्यालयमा सहभागी भई अध्ययन गर्दै आएको सचिव पोख्रेलले जनाए ।

82115359_653743765432371_8910180375930601472_n 80088805_1052032018474263_5035096525965885440_n