इलामःसरकारले कृषिको व्यवसायीकरण गर्न इलाम जिल्लाका किसानका लागि ११ करोड २० लाख २५ हजार अनुदान दिएको छ । १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा सो बराबरको रकम अनुदान दिएको हो । अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् । कृषि पेशामा आबद्ध किसानका लागि ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने कृषि ज्ञान केन्द्रका बालीसंरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । जिल्लाका प्रत्येक स्थानिय तहमा फरक–फरक नगदेबालीका लागि अनुदान उपलब्ध गराइने उनको भनाई छ । 

इलाम नगरपालिकामा अलैची, आलु र अदुवाका लागि ९४ लाख, सुर्योदय नगरपालिकामा तरकारीका लागि २२ लाख, देउमाई नगरपालिकामा अदुवाका लागि आठ लाख, माई नगरपालिकामा तरकारीका लागि आठ लाख, चुलाचुली गाउँपालिकामा धानका लागि ४३ लाख, रोङ्ग गाउँपालिकामा खोर्सानी र अलैचीका लागि ६८ लाख, सन्दकपुर गाउँपालिकामा आलु र अलैँचीका लागि ५१ लाख, फाकफोकथुम गाउँपालिकामा अलैचीका लागि ३३ लाख, माङ्गसेबुङ्ग गाउँपालिकामा धान र अलैँचीका लागि ४१ लाख र माईजोगमाई गाउँपालिकामा अदुवा र किवीका लागि १६ लाख रुपैँया रकम अनुदानका लागि छुट्याइएको कार्यलयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ब्लक विकास कार्यक्रमका लागि जिल्लाका देउमाई नगरपालिकामा तरकारीका लागि ३५ लाख, माईजोगमाइ गाउँपालिकामा तरकारीका लागि ३५ लाख, माइनगरपालिकामा धान खेतीका लागि ३५ लाख रुपैँया थप स्थानिय तहमा अनुदान रकम सरकारले किसानका लागि उपलब्ध गराएको छ । यसैगरी परियोजना अन्तरगत नै प्राङ्गारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम सञ्चालनका लागि सुर्योदय र देउमाई दुवै पालिकामा प्राङ्गारिक मल उत्पादनका लागि ९३ लाख ६२ हजार पाँच सय रुपैँयाका दरले अनुदान रकम दिइएको छ ।

Ginger-aduwa
नियमित कार्यक्रम तर्फ भने जिल्लाका १० वटै स्थानिय तहमा मकै उत्पादकत्व प्रवद्र्धन कार्यक्रमका लागि ४२ लाख ५० हजार, कागती खेती मिसन कार्यक्रम इलाम, सुर्योदय, फाकफोकथुम, माईजोगमाई, रोङ्ग, माङ्गसेबुङ्ग र देउमाई गरी सात पालिकामा १७ लाख ५० हजार, किवी खेती प्रवद्र्धन कार्यक्रम फाकफोकथुम, देउमाई र माइजोगमाईमा १५ लाख, व्यावसायिक फलफूल बगैँचा स्थापनाका निम्ति १० वटै पालिकामा ३० लाख, सुन्तलाजात बगैँचा व्यवस्थापन एवम सुदृढीकरण कार्यक्रम इलाम, सुर्योदय, फाकफोकथुम, माइजोगमाई, रोङ्ग, माङ्गसेबुङ्ग, देउमाई र सन्दकपुरका लागि ४५ लाख, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम जिल्लाका रोङ्ग, इलाम, सुर्योदय र देउमाईमा १५ लाख, कफी खेती विस्तार कार्यक्रमका लागि इलाम, देउमाई, माङ्गसेबुङ्ग, र रोङ्ग गाउँपालिकामा २५ लाख, मागमा आधारित कृषि कार्यक्रम सबै पालिकामा दुई लाख ५० हजार, खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रवद्र्धन कार्यक्रम (पहिलो वर्षको लागि) माई, माईजोगमाई र फाकफोकथुममा १० लाख पाँच हजार रुपैँया रकम छुट्टिएको छ ।
सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रवद्र्धन कार्यक्रम (दोस्रो वर्षको लागि) अघिल्लो वर्ष सञ्चालित पालिकामा आठ लाख, अदुवा मिसन कार्यक्रम जिल्लाका देउमाई, माङ्गसेबुङ्ग, माइजोगमाइ, चुलाचुली र इलाम नगरपालिकामा तीन लाख ५० हजार, बीउ विजन आत्मनिर्भर कार्यक्रम (पहिलो वर्ष) माई नगरपालिका र इलाम नगरपालिकामा दुई लाख, बीउ विजन आत्मनिर्भर कार्यक्रम (दोस्रो वर्ष) सुर्योदय र चुलाचुलीमा एक लाख ८० हजार, चैते धान विशेष कार्यक्रम चैत्रमा धान हुने पालिकामा चार लाख ४५ हजार, सघन बाली (धान, मकै, गहुँ) पहिलो वर्षको कार्यक्रम चुलाचुली र माईनगरपालिकामा ४० लाख, सघन बाली (धान, मकै, गहुँ) दोस्रो वर्षको कार्यक्रम चुलाचुली गाउँपालिकामा १५ लाख, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रम जिल्लाका रोङ्ग, इलाम र माङ्गसेबुङ्गमा नौ लाख रुपैँया रकम अनुदानका लागि नेपाल सरकारले स्थानिय तहलाई उपलब्ध गराएको छ ।
नमुना कृषि फार्म स्थापना सहयोग कार्यक्रम सबै पालिकामा ४९ लाख, महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम जिल्लाका इलाम, रोङ्ग र चुलाचुलीमा छ लाख, कृषि बजार तथा संकलन केन्द्र निर्माण इलाम र रोङ्गमा २० लाख, अलैँची सुकाउने सुधारिएको भट्टि निर्माण सहयोग कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा ३० लाख र आलु भण्डारणको लागि रष्टिक स्टोर भण्डार निर्माण फाकफोकथुम गाउँपालिकामा पाँच लाख रुपैँया रकम अनुदान दिइएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

72818180_757328411358333_1785126946682699776_n