विराटनगरः कार्यक्षेत्रमा सुरक्षा, इन्धन–ऊर्जाको मितव्ययिता, वातावरणमा कम असर पार्ने खालका गतिविधि अपनाउँदा औद्योगिक उत्पादनको लागत घट्ने र जोखिम कम हुनेमा एक कार्यक्रममा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र वातावरण तथा आर्थिक विकास समाज (सिड) नेपालले विहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीले उद्योगलाई सुरक्षित र वातावरणमैत्री बनाउनका लागि सिडले सञ्चालन गरेको साधन दक्षता, स्वच्छता र उत्पादन कार्यक्रममा सहभागी भएका उद्योगहरुले वातावरणमा हुने असर कम गर्दै कामदारको सुरक्षाको पक्ष पनि सुधार हुन सकेको बताएका छन् ।
आयोजक मध्येको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले भवन तथा निर्माणमा प्रयोग गरिने धातुका सामान उत्पादन गर्ने उद्योगहरुमा उपयुक्त साधन, दक्ष जनशक्ति र स्वच्छ उत्पादनमा जोड दिन कार्यक्रम सञ्चालनमा रहेको बताए । उनले भने, ‘यो कार्यक्रम मोरङ र सुनसरीका चारवटा उद्योगहरुमा लागू भएको छ । अन्यमा पनि क्रमशः गर्ने योजना छ ।’ उनले सम्बन्धित उद्योगहरुले परियोजना अन्तर्गतको कार्यक्रम लागू गर्दा उपलब्धीमूलक भएको अनुभव सुनाए । हाल हुलास वायर, मैनावती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा लागू भएको छ ।
उद्योगहरुमा उत्पादनका क्रममा निस्कने सबै किसिमका खेर जाने वस्तुहरुको व्यवस्थापन, प्रदूषण नियन्त्रण र कार्यस्थलमा हुन सक्ने दुर्घटना कम गर्दै उत्पादकत्व वृद्धि गर्ने उपायहरु अपनाउनुपर्ने पक्षमा परियोजनाले सघाएको राउतले बताए ।
सिड नेपालका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले सबै पक्षको सहयोगका कारण कार्यक्रम प्रभावकारी भएको बताए । परियोजनाका तर्फबाट स्टेफन मेलनिज्कीले विभिन्न उदाहरण दिंदै औद्योगिक क्षेत्रमा जोखिम कम गरी वातावरणमा नकारात्मक असर पर्न नदिन विभिन्न उपाय अपनाउन सकिने बताए ।
धातुजन्य उद्योगहरुमा कामदारको सुरक्षा एवं जोखिम कम गर्ने उपायबारे छलफल गरिएको थियो । यस्ता उद्योगहरुले औद्यौगिक सुरक्षामा जोड दिंदै वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनुपर्ने सहभागीले बताए ।
प्रदेश सरकारका वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले औद्योगिक उत्पादन गर्दा वातावरणमा कम असर गर्ने खालका प्रविधि अपनाउनपर्नेमा जोड दिए । उनले भने, ‘उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । फोहोर उपयोग गरेर आर्जन गर्न सकिन्छ ।’
हुलास वायरका तर्फबाट बोल्दै सञ्जीव झाले परियोजनाको कार्यक्रममा आवद्ध भएपछि उद्योगलाई फाइदा भएको बताए । चार वर्षयता कार्यक्रम अनुसारका विभिन्न उपाय अपनाएर उद्योगमा सुरक्षाको वातावरण बनाइएको साथै लागत कम हुने खालका प्रविधि उपयोग गरिएको उनको भनाइ थियो । यसैगरी पशुपति आइरनका दिनेश खड्गीले इन्धन बचत र ऊर्जा कम खपत गरी मितव्ययी रुपमा काम गर्ने उपाय अपनाउँदा उत्पादन लागत कम हुने गरेको अनुभव सुनाए । यस्तै मैनावती स्टिल इन्डष्ट्रिजका टिसी गुप्ताले उद्योगमा जोखिम धेरै कम गर्न सकिन्छ भन्ने परियोजनाको उद्देश्य अनुसार व्यवहारमा लागू गर्दा फाइदाजनक भएको बताए । परियोजनाका अधिकृत दुर्गाबहादुर कारञ्जितले सरोकारवालाहरुसित सहकार्य गर्न आफूहरु उत्साही भएको बताए ।