धरानः कृषिमा रहेका अन्य खेती सरह फुल खेतीलाई पनि राज्यले प्रोत्साहन गर्नु पर्ने फुल व्यवसायीहरुले माग गरेका छन् ।
राज्यले कृषिमा तरकारी, अन्य पशुबाली सरह फुलको खेतीलाई पनि अनुदान तथा प्रोत्साहन गर्न उनीहरुले माग गरेका हुन् । तरकारी बालि भन्दा पनि फुल खेतीमा देशलाई आत्मनिर्भर बनाउने सम्भावना बढ्दै गएकाले राज्यले पनि लगानी गर्नुपर्ने फुल व्यवसायी प्रेम प्रसाद पराजुलीले बताए । अन्तराष्ट्रिय स्तरमै फुलको माग बढिरहेको अवश्थामा स्वदेशमै फुल उत्पादनलाई पनि बढाउन सके आयस्रोत वृद्धि हुने उनको भनाई छ । उनले भने, ‘फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने र यसको बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ, अझै राज्यले लगानी गरेर युवाहरुलाई प्रोत्साहन गर्न सके अन्तराष्ट्रिय बजारनै लिन सकिन्छ ।’ तरकारी खेतिमा हुने लगानीमा फुल खेतीमा १० प्रतिशत बढी आम्दानी गर्न सकिने उनको भनाई छ । विश्वले खोजिरहेको हिमाली, पहाडी क्षेत्रका फुल खेतीमा नर्सरी स्थापना गरिदिएर फुलको विरुवा उत्पादन गर्न राज्यको लगानी आवश्यक रहेको उनले बताए ।
उनका अनुसार नेपालमा ६ सय ९७ नर्सरी स्थापना गरेर फुलको व्यवसायहरु संचालन भएका छन् । वार्षिक रुपमा साढे २ अर्ब रुपैयाको फुलको कारोबार हुने गरेको छ । १ नम्बर प्रदेशमा मात्रै ६५ भन्दा बढी फुल व्यवसायीहरुको रहेको उनको भनाई छ । वार्षिक रुपमा करिब १३ करोड रुपैयाको कारोबार हुने गरेको छ । यस प्रदेशमा मात्रै विभिन्न स्थानमा रहेका फुल व्यवसायीहरुले ४० करोड भन्दा बढी लगानी गरेको उनले बताए । २ हजार भन्दा बढीले रोजगारी पाएको उनी बताउँछन् ।
तरकारी, पशुबालीको तुलनामा फुलको खेती प्रभावकारी हुने भएकाले राज्यले लगानी गर्नुपर्ने अर्का पुष्प व्यवसायी युमि हाङ राई बताउँछन् । उनी भन्छन्, ‘तरकारी खेतीले भन्दा बढी आम्दानी फुल खेतीले दिन्छ, तरकारी भन्दा १० गुणा बढी उत्पादन गर्न सक्छौं ।’ स्वदेशमै फुलका विरुवाहरु उत्पादन गर्न नसक्दा अन्य मुलुकबाट फुल ल्याउनु पर्ने बाध्यता रहेको उनको भनाई छ । सम्भावना भए पनि राज्यको लगानी नहुँदा निजी लगानीले मात्रै धान्न गाह्रो भएको उनले बताए । राज्यका कृषि सम्बन्धी निकायसंग खाद्य बाली, तरकारी फलफुल तथा पशुपालन सम्बन्धी निती रहेपनि राष्ट्रको करोडौं रकम मुलुक बाहिर जाने फुल खेत गर्ने निती नभएको उनको गुनासो छ । संघिय देखि प्रदेश र स्थानीय सरकारले समेत फुल खेतीका लागि चासो देखाउन उनले आग्रह गरे ।
फुल व्यवसाय र उत्पादनलाई प्रवद्र्धन गर्न विगत ४ वर्ष देखि फ्लावर कल्चर एसोसियसन १ नम्बर प्रदेशले पुष्प व्यापार तथा प्रदर्शनी मेलाको आयोजना गर्दैआएको छ । त्यसमा पनि राज्यको सहयोग न्युन रहेको पुष्प व्यवसायीहरुको गुनासो छ ।
यस वर्ष पनि एशोसियसनले धरानमा प्रदेश नम्बर १ स्तरिय पुष्प व्यापार तथा प्रदर्शनी मेला माघ २९ गते देखि ४ गते सम्म मेलाको आयोजना गर्ने भएको छ । प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा हुने ५ दिने मेलामा विभिन्न स्थानमा पुष्प व्यवसाय गर्दै आएका व्यवसायीहरुको ५० वटा स्टल रहने भएको छ । मेलामा मौसमी फुलहरु संगै आलंकारिक बोट विरुवा, सुनाखरी, कम्पोष्ट मल, बीउबिजन, कृषि औजार लगायत ५ सय भन्दा बढी प्रजातीका फुल तथा विरुवाहरु बिक्रिका लागि राखिने मेलाकी संयोजक कल्पना लिम्बुले बताए । धरान १२ स्थित पब्लीक माविको मैदानमा हुने मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने तथा ७० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।