इटहरीः हरित नगर इटहरीलाई संसारभर हातमै छर्लङ्ग देखाउने काम शुरु भएको छ । ४ महिनाभित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोबाइल एप्स मार्फत् नगरका सबै तथ्याङ्क र जानकारी सहजै हेर्न सकिने बताइएको छ ।
४ महिनाभित्रमा मोबाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । उनका अनुसार डिजिटल प्रोफाइल र मोबाइल एप्स बनाउने प्रक्रिया शुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप्स बनाउनका लागि कार्य योजना तथा तयारी बैठक सम्पन्न भएको छ ।
कसरी देखिन्छ इटहरी छर्लङ्गै ?
इटहरीको नगर प्रोफाइल मोबाइल एप्समा समेटिने छ । अनलाइन र अफलाइन हेर्न सकिने गरी सो एप्सको निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवद्र्घन केन्द्रले जनाएको छ । प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ ।
सबै नगरवासीको पारिवारिक विवरण राखिने
घरको पारिवारिक विवरण र सबै सदस्यको नाम थर, जन्म मिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोबासको अवस्था (घरमै बस्ने हो अथवा बाहिर बस्ने हो) त्यसमा समेटिने छ ।
नगरवासीको पेशा, वैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति पनि समावेश हुने बताइएको छ । यस्तै घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको अथवा नराखेको र १ वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सोसमेत राखिने बताइएको छ ।
त्यस्तै, नगरवासीले स्वास्थ्य बीमा र जीवन बीमा गरेका छन् कि छैनन् भन्ने जानकारी पनि समेटिने बताइएको छ । यसैगरी, प्रत्येक घरको जीपीएस नम्बरसहित सो घर कुन रोड र बस्तीमा छ त्यसको पनि जानकारी राखिने बताइएको छ । नगरवासीको तथ्याङ्क सङ्कलनका लागि ६१ जना गणकहरू एप्स र जीपीएस चल्ने मोबाइल बोकेर इटहरीका प्रत्येक घरमा पुग्ने छन् ।
उनीहरूले डिजिटल प्रविधिमार्फत् नै तथ्याङ्क सङ्कलन गर्ने बताइएको छ । उनीहरू प्रत्येक घरमा पुगे कि पुगेनन् भन्ने जीपीएस प्रविधिमार्फत् पत्ता लाग्ने बताइएको छ । गणकहरूले असोज महिनाभित्रमा तथ्याङ्क सङ्कलन गरिसक्ने नगरपालिकाले जनाएको छ ।
नगर प्रोफाइलमा नगरपालिकाको चिनारी र जनसङ्ख्याको सबै पक्ष समेटिएको विस्तृत जानकारी, आर्थिक विवरण, भू उपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, व्यापार तथा व्यवसाय सम्बन्ध जानकारी समेटिने जनाइएको छ ।
यसैगरी, बंैक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संशाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, सञ्चार प्रविधि, आवास तथा भवन समेटिने छ । यस्तै, संस्थागत तथा सुशासनको स्थितिका साथमा ऐन र नीतिनियम तथा कार्यप्रणाली राखिने जनाइएको छ ।
विकास र समृद्धिका लागि नगर प्रोफाइल
‘नगर प्रोफाइल इटहरीको विकास र समृद्धिका लागि पहिलो खुड्किलो हो,’ नगर प्रोफाइलको आवश्यकताका बारेमा मेयर चौधरी भन्छन्, ‘इटहरीलाई कस्तो बनाउने भन्ने रणनीतिक योजना बनाउन नगर प्रोफाइल नभई हुँदैन ।’ नगरकी उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतम वैज्ञानिक तवरले योजना सञ्चालन गर्न नगर प्रोफाइल व्यावहारिक हुने बताउँछिन् । करलाई वैज्ञानिक र व्यवस्थित बनाउन पनि नगर प्रोफाइलले सहयोग गर्ने गौतम बताउँछिन् ।