सङ्खुवासभाः चैनपुर–बाह्रबिसे सडक अन्तर्गतको हेवा खोलाको झोलुङ्गे पुल निर्माण पूरा गर्नुपर्ने निर्धारित समय अब १ महिना मात्र बाँकी छ । तर निर्माण थालेको २ वर्ष बित्नलाग्दा समेत काम भने ठप्प छ ।

सडक विभाग र ठेकेदार कम्पनी पुष्पान्जी कन्ट्रक्सन प्रालिको लापरवाहीले पुल निर्माणले गति लिन नसकेको हो । ४ करोड ५८ लाखको लागतमा निर्माण हुन लागेको पुलको २०७३ साल भदौमा निर्माणकार्य शुरु भएको हो । २०७५ असोजसम्ममा पुल निर्माण गरिसक्नुपर्ने सम्झौता छ ।

ठेकेदार कम्पनीले पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भएको बहाना बनाउँदै काम स्थगन गरेको थियो । हेंवा खोलामा झोलुङ्गे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रुहरू बाँसको अस्थायी पुल (फड्के) मार्फत् असुरक्षित यात्रा गर्न बाध्य छन् ।

वर्षायाममा खोलामा पानीको बहाब बढेसँगै कुनै पनि सवारी साधन नचल्ने अवस्था भएको पाँचखपन–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताए । खोलामा पुलको रूपमा प्रयोग गरिएका बाँस र काठ पनि मक्किइसकेको उनको भनाइ छ । पुलबाटै बाह्रै महिना यात्रा गर्नुपर्ने भए पनि वर्षायाममा पानीको बहाव बढेपछि बगाएर लैजाने गरेको छ ।

पुष्पान्जी कन्ट्रक्सनले काम नगरेपछि तत्काल ठेकेदार कम्पनीलाई कारबाहीको माग राख्दा सडक डिभिजन कार्यालयका एक इन्जिनियरले ठेकेदारको बचाउ गर्दै समय थपेर काम लगाउनुपर्नेे धारणा राखेको वडाध्यक्ष न्यौपानेले बताए । सडक डिभिजन कार्यालय तुम्लिङटारका इन्जिनियर त्रिलोकनाथ घिमिरेले पुल निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीले समय भन्दा ढिला काम शुरु गरेको बताए ।

पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भेटिएकाले डिजाइन परिवर्तन गरेर गत वैशाखमा खनेको नयाँ पिल्लरको फाउन्डेसन पनि बाढीले पुरेकाले काम स्थगित भएको उनले बताए । तर वडाध्यक्ष छत्र न्यौपानेले त्यसको ठाडै अस्वीकार गर्दै पहिलो वर्ष खनेको फाउन्डेसन बाढीले बगाएपछि अर्को पटक काम सुचारु नगरिएको दाबी गरे । पुलको शिलान्यास पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले गरेका थिए ।