विराटनगरः वर्षेनी एउटै कम्पनीलाई मात्रै विद्युत ट्रान्सफर्मर मर्मतको जिम्मेवारी दिँदै आएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरको कार्यप्रति अन्य इन्जिनियरिङ कम्पनीले प्रश्न उठाएका छन् ।

विराटनगरमा सञ्चालित इष्टर्न इन्जिनियरिङले लगातार २० वर्षदेखि ट्रान्सफर्मर मर्मतको जिम्मा पाउँदै आएकोमा अन्य इन्जिनियरिङ कम्पनी भने रुष्ट बनेका हुन् ।

वार्षिक ३ सय ट्रान्सफर्मर मर्मतको बोलपत्र खुलाउँदा एउटै कम्पनीको मापदण्डलाई आधार बनाउने गरिएको उनीहरूको गुनासो छ । विद्युत प्राधिकरणको आफ्नै मर्मत केन्द्र नभएका कारण निजी कम्पनीमार्फत् ट्रान्सफर्मर मर्मत गराउनुपर्ने बाध्यता छ । यही बाध्यतामा कार्यालयका उच्च तहका कर्मचारी र कम्पनीबीच मिलेमतोको आशङ्का गरिएको हो ।

क्षेत्रीय विद्युत प्राधिकरण विराटनगरको लेखा शाखाको तथ्याङ्क अनुसार हरेक वर्ष ३ सय ट्रान्सफर्मर मर्मत हुँदै आएका छन् । गत आर्थिक वर्ष २०७४÷०७५ मा २ सय ९० ट्रान्सफर्मर मर्मतका लागि २ करोड ३९ लाख ६१ हजार ४ सय ५७ रुपैयाँ खर्च भएको देखिन्छ ।

प्राधिकरणले प्राविधिक योग्यता र कम मूल्यको बोलपत्रलाई स्वीकृत गरेर कामको जिम्मेवारी दिँदै आएको भए पनि एउटै कम्पनीले बारम्बार ठेक्का पार्नुमा आशङ्का गर्ने ठाउँ देखिएको हो । सार्वजानिक खरिद ऐन अन्तर्गत विद्युतीय बोलपत्र (ई–बिडिङ) मार्फत् ट्रान्सफर्मर ठेक्का प्रक्रियामा लाग्दै आएको क्षेत्रीय कार्यालयका प्रमुख सचितानन्द यादवको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयले तयार गरेको मापदण्डका आधारमा बोलपत्र आह्वान गरिने भएकाले शङ्का गर्नु गलत भएको प्रमुख यादव बताउँछन् । चालु आर्थिक वर्षमा समेत छनोट भएको पुरानै कम्पनी विराटनगर–४ स्थित इष्टर्न ईन्जिनियरिङसहित अन्य ४ कम्पनीले बोलपत्र दर्ता गराएको यादवले जानकारी दिएका छन् ।

इष्टर्नले लगाउँछ पेटी ठेक्का
दीपक प्रधान सञ्चालक रहेको इष्टर्न इन्जिनियरिङले २० वर्षदेखि ठेक्का पाउँदै आएको ट्रान्सफर्मर मर्मतको काम भने अन्य इन्जिनियरिङ कम्पनीले समेत पेटी ठेक्काको रूपमा गर्दै आएका छन् । आफूले ठेक्का पारेर पूर्वका विभिन्न इलेक्ट्रिकल इन्जिनियरिङको काम गर्ने कम्पनीलाई ट्रान्सफर्मर मर्मत गराउँदै आएको प्रधान बताउँछन् ।

कुनै कारणले ट्रान्सफर्मर बिग्रिएमा मर्मतको अधिकार प्राधिकरणको शाखा वा सेवा केन्द्रलाई नहुने हुँदा क्षेत्रीय विद्युत प्राधिकरणमै ल्याउनुपर्ने हुन्छ । एकद्वार प्रणालीमार्फत् ट्रान्सफर्मर मर्मतको प्रक्रिया बढाउने क्षेत्रीय कार्यालयको कामप्रति भने मातहतका कार्यलयसमेत सन्तुष्ट हुने गरेका छैनन् । सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका शाखा तथा सेवा केन्द्रले ट्रान्सफर्मर बिग्रिनासाथ मर्मत गरेर विद्युत आपूर्ति सहज बनाउन नसके जवाफदेही बन्नुपर्ने बाध्यता रहन्छ ।

तर, एउटै कम्पनीलाई जिम्मेवारी दिएका कारण मर्मतको काम समेत ढिलो हुने गरेको गुनासो मातहतका कार्यालयका प्रमुखले गर्दै आएका छन् । क्षेत्रीय कार्यालयको सम्बन्धित शाखा र इन्जिनियरिङ कम्पनीबीचको मिलेमतोकै कारण अन्य कम्पनीले कामको जिम्मेवारी पाउन नसकेको आशङ्का बढेको हो ।

इष्टर्नका सञ्चालक दीपक प्रधान आफूले राम्रो काम गरेका कारण वर्षौदेखि ठेक्का पाउँदै आएको र अन्य इन्जिनियरिङ कम्पनीलाई समेत आफूले काम दिने गरेको बताउँछन् । उनले आफूले मर्मत गरेको ट्रान्सफर्मर विद्युत प्राधिकरणका इन्जिनियरले परीक्षण गरेर मात्रै लैजाने गरेको दाबी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर मर्मत तथा परीक्षण केन्द्र हेटौंडामा मात्रै छ । विराटनगर, कोहलपुर, काठमाडौंमा मर्मत तथा परीक्षण केन्द्र स्थापना भइरहेको छ । पूर्वको विराटनगरसम्म आइपुगेका ट्रान्सफर्मरलाई हेटौंडाको मर्मत तथा परीक्षण केन्द्रमा पठाउन ढुवानी खर्च बढी हुने भएकाले निजी कम्पनीमार्फत् क्षेत्रीय कार्यालयले मर्मतको काम गराउँदै आएका छन् ।

ठूलो रकम लाग्ने ट्रान्सफर्मर मर्मतमा क्षेत्रीय कार्यालयको एकाधिकार रहँदा बोलपत्रमा कमिसनको चलखेल हुन सक्ने आशङ्कालाई जायज मान्न सकिने आधारहरू देखिएका छन् । तर, प्राधिकरणका क्षेत्रीय प्रमुख यादवले आफूले कसले बोलपत्र पा¥यो भन्दा पनि कसले ट्रान्सफर्मर मर्मत गरेर समयै दिन सक्छ भन्ने कुरालाई ख्याल गर्ने गरेको बताउँछन् ।

\