इटहरीः इटहरी–४ का युवा सन्तोष निरौला पहिलेपहिले इन्टरनेट चलाउन साइबर पुग्थे । साइबर नहुँदा चिनिएका साथीहरूको वाइफाइ भएका क्षेत्रमा बसेर इटहरी चोक आएको समयको सदुपयोग गर्थे ।
इटहरी चोकमा फ्रि वाइफाइ जडान गरेपछि भने निरौला अहिले इटहरी चोकको उत्तरपश्चिम चोसोमा रहेको रेयुकाइ चौतारीमा पुग्छन् । ‘अब चोकमा कोही आफन्त भेट्न कुर्दा, बैंकको काममा ढिलाइ हुँदा बस्ने मेलो भएको छ’, निरौला भन्छन्, शुक्रबार दिउँसो वाइफाइ चलाउँदै भेटिएका निरौलाले भने, ‘सामान्य मेलहरू गर्न, फेसबुक चलाउनदेखि अनलाइन पोर्टलहरू हेर्न सजिलो भएको छ ।’ इटहरीका युवा निरौला मात्रै होइन धेरै युवाहरू इटहरी चोक क्षेत्रमा आउँदा यसरी वाइफाइ जोनमा झुम्मिन थालेका छन् ।
वाइफाइ जडान भएसँगै अरुबेला पाकाहरू भेला हुने रेयुकाइ चौतारी अहिले युवाहरूको जमघटस्थल भएको छ । इटहरीमा निर्वाचित भएर आएपछि मेयर द्वारिकलाल चौधरी नेतृत्वले साउन पहिलो हप्ता गरेका प्रथम तीन निर्णय मध्येको एक निर्णय हो फ्रि वाइफाइ जोन । फ्रि वाइफाइको निर्णय गत वर्षको साउनमा भए पनि कार्यान्वयन भने गत वर्षको माघबाट भएको हो । नेपाल टेलिकमसँगको सहकार्यमा १ एमबिपिएस गतिको फ्रि वाइफाइ जडानमा मासिक ४ हजार २ सय नगरपालिकाले खर्च गर्दै आएको उपमहानगरका प्रशासकीय अधिकृत सञ्जय अधिकारीले बताए । उनले भने, ‘हामीले एक एमबिपिएसको डेडिकेटेट लिज्ड लाइन जोडेका छौँ । राम्रै फिडब्याक आएको छ ।’
पर्यटन क्षेत्रमा जोड्ने निर्णय भएको वाइफाइ चोकमा फ्रि वाइफाइ जडानको खास निर्णय पर्यटन क्षेत्रमा जोड्ने हो । तर, उपमहानगरले फ्रि वाइफाइ भने चोकमा जोडेको छ । इटहरीमा रहेको प्रदेश १ कै लोकप्रिय तालतलैया क्षेत्रमा भने वाइफाइ अझै पनि जडान गरेको छैन । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बू इटहरीको फ्रि वाइफाइ जोनको निर्णयले पर्यटकीय क्षेत्रलाई समेट्ने भनिए पनि तालतलैयामा जडान नगरिएको बताउँछन् । उनले भने, ‘वाइफाइ कार्यक्रम तालतलैयामा आउँछ भन्ने कुरामा हामी उत्साहित थियौँ । पछि यता जोडिएन चोकमा जोडियो ।’
तालतलैयामा सिसी क्यामेरा र फ्रि वाइफाइ अनिवार्य आवश्यकता रहेको लिम्बूले बताए । उनले भने, ‘तालतलैयाको सुरक्षाको लागि पनि यहाँ सिसी क्यामेरा आवश्यक छ र थप आगन्तुक बढाउन फ्रि वाइफाइ जडान आवश्यक छ ।’ वडा नम्बर ३ ले फ्रि वाइफाइ जडान गर्ने आश्वासन भने दिएको अध्यक्ष लिम्बूले बताए । उनले भने, ‘वडाको वाइफाइ जडान प्रक्रिया भने अगाडि बढेको छैन ।’