प्रकाशपुरः नगरपालिका बन्न सरकारी आधारभूत पूर्वाधार समेत नपुगेको बराहक्षेत्र नगरपालिकाले कर लिने कतिपय मामिलामा भने महानगरपालिलाई समेत जितेको छ ।नगरपालिका बन्न आधा दर्जन मापदण्ड नपुगेको बराहक्षेत्रले महानगरले समेत नलिने आन्तरिक निकासी कर लिने गरेको पाइएको छ ।

नगरपालिकाले ठेक्का नै लगाएर आफ्नै क्षेत्रभित्रको एक वडाबाट अर्को वडामा सामान ढुवानी गर्दा निकासी भन्दै कर लिने गरेको छ । नगरपालिका बनाउन आवश्यक अस्पताल, खुला तथा पार्क क्षेत्र, ल्यान्ड फिल्ड, आवश्यक भौतिक पूर्वाधार, आन्तरिक आयजस्ता मापदण्ड भने बराहक्षेत्रको अझै पुगेको छैन ।

तर, नगरपालिका बन्न समेत मापदण्ड पूरा नगरेको बराहक्षेत्रले भने नेपालमै नभएको प्रचलन ल्याई आन्तरिक रूपमा निकासी सेवा शुल्क भन्दै सर्वसाधारणलाई कर लिन थालेको हो । नगरपालिकाले २०७५ साउन १५ गते धरानबाट निस्कने ब्लाष्ट टाइम्स पत्रिकामा ठेक्काको सूचना प्रकाशित गरेको थियो ।

नगरपालिकाले जारी गरेको सूचनाको ठेक्का नम्बर ६ मा ‘साबिक प्रकाशपुर हाल बराहक्षेत्र नगरपालिका ९ र १० स्थितको सेवा शुल्क निकासी’ शीर्षकमा ४५ हजार रुपैयाँमा इनरुवाको बिन्दाबासिनी कन्स्ट्रक्सन प्रालिलाई निकासी शुल्क उठाउन ठेक्का दिएको उल्लेख छ ।

यसरी ठेक्का दिँदा ठेक्का उठाउने बिन्दाबासिनीलाई नगरपालिकाले १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्म उठाउने अधिकार दिएको छ । कृषि उपजलाई बढावा दिई स्थानीय कृषि बजारलाई प्रोत्साहित गर्ने नीति लिएको नगरपालिकाले निकासी भएर जाने अधिकांश कृषि उपजमा नै बढी कर लगाएको छ ।

तर यसरी नगरपालिकाले खुल्लम खुल्ला हिसाबले नीति र मान्यता विपरीत आफ्नै वडाभित्र पनि निकासी कर उठाएको विषयमा सम्बन्धित वार्डका वडाध्यक्षहरु नै जानकार छैनन् । नगरपालिका भित्रका आआफ्नै वडा काटेर अर्को वडामा जाँदा नगरपालिकाले कर लिनु गलत हो,’ वडा नम्बर ९ का वडाध्यक्ष दीपक लिम्बू यसबारे बेखबर रहेको बताउँदै भन्छन्, ‘यदि नगरपालिकाले अन्तर वार्ड निकासी कर लिएको छ भने त्यो विषय पुनरावलोकन हुन्छ ।’

लिम्बू मात्र होइन वडा नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराई पनि आफ्नै वार्डभित्र कर लिएको कुराले अचम्ममा परे । उनले भने, ‘आफ्नै नगरभित्र कर लिनु अचम्मको विषय हो । यस्तो गम्भीर विषयको जानकारी तपाईंले दिनुभयो । धन्यवाद तपाईँलाई ।’

barraha-kshetra-nagarpalika-pradeshportalcom-1 1


ठेकेदार नै भन्छन्,यो गलत अभ्यास हो

वडाध्यक्ष मात्र होइन ठेक्का लिएका सोनु चन्द्रवंशी पनि आफ्नै नगरपालिकाको वार्ड कट्दैमा कर लिने विषय गलत रहेको बताउँछन् । ‘नगरपालिकाले सूचना जारी ग¥यो । मैले नलिएको भए अरू कसैले लिन्थ्यो । त्यसैले आफैँले लिन ठीक लाग्यो’, चन्द्रवंशीले भने, ‘अहिले यो कर उठाउन अप्ठ्यारो छ । तर, नगरपालिकालाई सराप्दै जनताले कर भने तिर्दै छन् ।’

नगरपालिकामा चतरा (वडा नम्बर २) बाट व्यापारीहरू सामान लिएर मधुवन (वडा नम्बर ११) मा सामान बेच्न जान्छन् । तर आफ्नै नगरपालिकाभित्रै सामान बेच्न जाँदा समेत कर तिर्नु परेको बराहक्षेत्र–९ का गङ्गाप्रसाद तिम्सिनाले गुनासो गरे ।

‘हटियामा बेच्दा पनि कर, सामान ल्याउँदा पनि कर, आएको आयबाट पनि कर, वार्षिक व्यवसाय नवीकरणबाट पनि कर’, तिम्सिनाले भने, ‘साइकलमा दिनभरि रुँगेर व्यवसाय गर्ने हामीलाई आफ्नै नगरपालिका भित्रबाट सामान ल्याउँदा पनि कर लगाउँछ । हरेक वस्तुमा लगाइएको करले जनतालाई के कति राहत, र कति पीडा दिएको छ, जनप्रतिनिधिले मूल्याङ्कन गर्नुपर्देन ? सरकार, स्थानीय तह तथा प्रदेश सरकार छ रे यिनीहरूले जनताको पीडा बुझ्नु पर्दैन ?’