विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । कृषिमा यान्त्रिकीकरण गरी किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्य अनुरुप बुधबार ३८ जना किसानलाई ५० प्रतिशत अनुदानमा पावर स्प्रेयर वितरण गरिएको हो ।
किसानलाई कृषि सामग्री वितरण गर्नुपूर्व ती सामग्रीको प्रयोग विधिबारे जानकारी गराइएको थियो । कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले निर्वाचनपछि कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्जस्ता क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । नगरपालिकाले प्रदान गर्नेे सेवाका विषयमा नागरिकले पनि चासो दिएर बुझेर कार्यक्रमबारे जानकारी लिएर लाभ लिनुपर्ने उनको भनाइ थियो ।
नगरप्रमुख ढकालले कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन किसान–जनप्रतिनिधिबीचको समन्वय अनिवार्य हुनुपर्ने बताए । निर्वाचनका समयमा प्रत्येक घरघरमा पुगेको स्मरण गर्दैै नगप्रमुख भएर आइसकेपछि योजना बनाउने र जनताको काममा लाग्नुपर्ने भएकाले जनताले आफ्नो समस्या र चासोका विषय लिएर जनप्रतिनिधिसँग आउनुपर्ने उनको भनाइ थियो । कृषि, स्वास्थ्य, र शिक्षा क्षेत्रमा आगामी वर्ष बजेट बढ्ने पनि उनले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख धनमाया तामाङले सिंहदरबारको अधिकार घरघरमा आएको अनुभूति गराउने खालका कार्यक्रम ल्याइएको बताउँदै किसानलाई विषादी प्रयोग नगरी व्यावसायिक कृषि क्षेत्रमा लाग्न अनुरोध गरिन् । उपप्रमुख तामाङले यही क्षेत्रमा पाइने विभिन्न झारपात, जडीबुटी प्रयोग गरी बालीमा लाग्ने कीरा मार्नुपर्ने बताइन् । एउटा किसानले उत्पादन गरेको तरकारी अरुको स्वास्थ्य बचाउने खालको हुनुपर्ने उनको भनाइ थियो ।
सामग्री पाएपछि वडा नम्बर ११ कि ज्योति चौधरीले खुशी हुँदै नगरपालिकाले दिएको सामग्रीलाई आपूmले जतनका साथ प्रयोग गर्ने बताइन् । यस्तै, वडा नम्बर ६ का मानबहादुर श्रेष्ठले जनप्रतिनिधि आएपछि कृषि क्षेत्रमा लाग्ने नागरिकका लागि धेरै ठूलो सहयोग भएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईले नगरपालिकाको २ हजार ५ सय ७१ हेक्टर कृषियोग्य जमिन रहेको बताउँदै नगरपालिका सुहाउँदो कार्यक्रम ल्याइएको बताए । यसअघि पनि नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको थियो ।