धरानः अधिकांश उपभोक्ताहरूको सदस्यता नवीकरण हुन नपाई गुपचुपमा प्रतिनिधि छानेर साधारणसभा आयोजना गरिएको भन्दै उपभोक्ताहरूले चर्को विरोध गरेपछि धरान १७ को उदय सामुदायिक वन उपभोक्ता समूहको ५ औं साधारणसभा अनिश्चितकालसम्मको लागि स्थगित भएको छ ।

शुक्रबार समूहको आफ्नै भवनमा शुरु भएको साधारणसभाको उद्घाटन सत्र समापन हुनै नपाई असन्तुष्ट उपभोक्ताहरूले विरोध जनाउन थालेपछि साधारणसभा अनिश्चित समयको लागि स्थगित भएको हो । ‘उपभोक्ताहरूले साधारणसभाको उद्घाटन सत्र नै पूरा हुन दिएनन्, अर्को मितिमा साधारणसभा बोलाउने गरी स्थगित भयो,’ धरानस्थित सब डिभिजन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले भने । उनी पनि साधारणसभामा विशिष्ट अतिथि थिए । उपभोक्ताहरूले वन उपभोक्ता महासङ्घ जिल्लाका उपाध्यक्ष टेक तामाङ बोल्दै गर्दा होहल्ला गर्न शुरु गरेका थिए ।

अनियमितता ढाकछोप गर्न नवीकरणको समय नदिएको आरोप
उपभोक्ताहरूले कार्यसमितिले आफ्नो आर्थिक अनियमिततालाई ढाकछोप गर्न सदस्यता नवीकरणको समय नदिएको र प्रतिनिधि पनि आफ्नो ढङ्गले छनोट गरेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् । उनीहरूले साधारणसभाबारे पूर्वसूचना नदिई एक घण्टा अघि मात्र सूचना गरिएको पनि आरोप लगाएका छन् ।

समूहका सल्लाहकारसमेत रहेका धनबहादुर विष्टले पनि २९ गते साधारणसभा गर्ने निर्णय गरिए पनि आम उपभोक्ताहरूलाई सूचना नदिइएको विषयमा असन्तुष्टि व्यक्त गरे । प्रतिनिधि छनोटबारे पनि पारदर्शी नभएको उनको भनाइ थियो । ‘प्रतिनिधिहरू कसरी छानियो भन्ने नै जानकारी भएन । आज साधारणसभा हो भनेर कम्तीमा हिजो, अस्ति नै माइकिङ गर्न पथ्र्यो,’ उनले भने ।

अर्का उपभोक्ता भविन राईले पनि आफ्नो आर्थिक अपारदर्शिता लुकाउन सदस्यता नवीकरणको समय नदिइएको र आफुखुशी प्रतिनिधि छानेर साधारण सभा गरेको भन्दै आपत्ति जनाए । आम उपभोक्ताहरूलाई बाहिरै राखेर सुटुक्क आयोजना गरिएको साधारणसभा कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले पनि उद्घाटन सत्रमा नै चर्को विरोध जनाए ।

प्रमुख अतिथिले मन्तव्य राख्नै पाएनन्
उद्घाटन सत्र नसकिँदै उपभोक्ताहरूले होहल्ला र विरोध मन्तव्य राख्न थालेपछि साधारणसभा बिथोलिएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि रहेका डिभिजन वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले सम्बोधन गर्न पनि पाएनन् । ‘उपभोक्ताहरूमा गुनासो हुनु जायज हो, तर त्यो बन्दसत्रमा व्यक्त हुनुपथ्र्यो,’ सञ्चारकर्मीहरूसँग उनले भने, ‘अब कार्यसमितिले पहिला बाहिरै समन्वय र समझदारी गरेर साधारणसभा गर्नुपर्छ ।

वडा नं १७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज)ले पनि अधिकांश उपभोक्ताहरूलाई सदस्यता नवीकरण गर्ने मौका नदिई र प्रतिनिधि छनोटमा पनि आफूखुशी गरेपछि समस्या भएको बताए । उनले संस्थालाई पारदर्शी बनाउनुपर्ने बताए । उपभोक्ताहरूको आवाजलाई बेवास्ता गरिँदा समस्या भएको उनको धारणा थियो । उनले भने, ‘यस्तो अवस्था सिर्जना नहोस् भनेर समन्वयको प्रयास गरेको थिएँ । समूहको नेतृत्वले समयमा ध्यान नपु¥याउँदा नै यो अवस्थाको सिर्जना भएको हो ।’

हरेक वर्ष साधारणसभा गर्नुपर्ने भए पनि उदय वन उपभोक्ता समूहले २०७२ साल यता साधारणसभा गरेको थिएन । साधारणसभा नगरी वन समूह सञ्चालन भएका कारण ती आर्थिक वर्षको हरहिसाब, आयव्ययबारे उपभोक्ताहरूले अनियमितता भएको आशङ्का गर्दै आएका छन् । त्यही अपारदर्शिता र अनियमितता लुकाउन कार्यसमितिले सुटुक्क आफ्नो पकडका उपभोक्तालाई प्रतिनिधि बनाएर साधारणसभा गर्न लागेको अधिकांश उपभोक्ताको भनाइ छ ।

उपभोक्ता समूहका अनुसार यो वर्ष करिब २ सयले मात्र सदस्यता नवीकरण गरेका छन् भने प्रतिनिधि १० घरधुरी बराबर १ जनाको दरले बोलाइएको छ । ‘म पनि प्रतिनिधि भएर भोट हाल्न मन थियो, तर सदस्यता नवीकरण गर्ने समय दिइएन । किन यस्तो गरियो ?’ आक्रोश पोख्दै श्याम रोकाले भने ।

वन समूहका अध्यक्ष मीन सुनुवारले केही दिनभित्र बैठक बसेर के गर्ने भनेर निर्णय गर्ने बताए । काम गर्ने सिलसिलामा आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै उनले त्यस विषयमा बन्द सत्रमा छलफल गर्न चाहे पनि उद्घाटन सत्र नै बिथोलिँदा दुःख लागेको प्रतिक्रिया दिए । अनियमितता भने नभएको उनले दाबी गरे ।

‘हामीले सबै अडिट गरेका छौं । हो काम गर्दा मिस्टेक हुन्छ । त्यसबारे बन्द सत्रमा छलफल हुनुपथ्र्याे,’ उनले भने, ‘केही दिनभित्रै कार्यसमितिको बैठक बसेर के गर्ने भन्ने निर्णय गर्छाैं ।’ उपभोक्ताहरूले भनेजस्तो सदस्यता नवीकरण गर्ने समय नदिएको नभई जानकारी दिँदा पनि उपभोक्ताहरूले नवीकरण नगरेका कारण धेरै छुटेको अध्यक्ष सुनुवारले दाबी गरे ।
उनले भने, ‘उपभोक्ताहरूले नै नवीकरण गर्न चासो दिँदैनन् । त्यसैले २ सय जतिको मात्र नवीकरण भएको हो ।’