बेलबारी / मृत्युपश्चात् कपुरथान बनाउने गरेका आदिवासी समुदायहरूले अहिले सामाजिक काममा खर्च गर्न थालेका छन् ।
राई, लिम्बू र गुरुङहरूले बनाउने गरेको कपुरथानको सट्टा पछिल्लो समय वृक्षरोपण गर्ने तथा सामाजिक काम गर्ने परिपाटीको विकास भएको हो । यसै क्रममा बेलबारी ४ की एक महिलाले आफ्ना श्रीमानको नाममा कपुरथान बनाउने खर्च कटाएर विद्यार्थीहरूलाई पोशाक वितरण गरेकी छिन् ।

लीलादेवी राईले कसेनी माध्यमिक विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पोशाक वितरण गरेकी हुन् । उनका श्रीमान् रोजनको केही वर्षअघि मृत्यु भएको थियो । ‘श्रीमान्को मृत्युपछि श्रीमान्को नाममा कपुरथान बनाउन लागेको थिएँ’, उनले भनिन्, ‘वडा नम्बर ४ का अध्यक्ष राम किरातीले विद्यार्थीहरूलाई पोशाक वितरण गर्न सल्लाह दिएपछि वितरण गरेकी हुँ ।’
छोरासँग सल्लाह गर्दा छोराले समेत राम्रो काम भनेकाले पोशाक वितरण गरेको उनले बताइन् । ‘कपुरथान बनाएको भए जङ्गलमा सीमित हुन्थ्यो’, छोरा राजेशको जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गरेको उनले भनिन्, ‘राजेशको पहिलो कमाई समाजसेवामा खर्च भयो ।’ उनका छोरा राजेश केही महिना अघि दुबइ गएका छन् ।

जन्मोत्सव मनाउन महङ्गा होटलमा पार्टी दिने चलन अहिले अन्त्य हुन थालेको छ । होटलहरूमा दिइने पार्टीको खर्च कटाएर विद्यालयहरूलाई सहयोग बढ्न थालेको कसेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र लुइँटेलले बताए । गरीब तथा असहाय विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री प्रदान गर्ने चलन बढेको उनले बताए ।

बेलबारी नगरपालिकाले केही वर्षअघि मात्रै कङ्क्रिट चिहान नबनाई समाधि गरिएको स्थानमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो ।