इलामः व्यावसायिक पशुपालनमा अब्बल इलाममा वार्षिक रूपमा ८५ करोड बढीको दुग्धजन्य उत्पादन हुने गरेको छ । इलाममा चिज, घिउ, छुर्पी, ललीपप र पनिर गरी वार्षिक १७ लाख १३ हजार ५ सय किलो दूधजन्य परिकार सरदर ५ सय रूपैयाँको दरले बार्षिक रूपमा ८५ करोड ६७ लाख ५० हजार बराबरको दूधजन्य परिकारको कारोबार हुने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा गत आवको तुलनामा चालु आवको ११ महिनाको अवधिमा १ दशमलव ८ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । गाई, भैँसी र चौँरीको गरी १ लाख २३ हजार ७ सय ४० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ ।

यो गत आवको तुलनामा २ हजार १ सय ७८ मेट्रिक टनले बढी हो । गत आवमा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दूध उत्पादन भएको थियो । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै ५ वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको पाइएको छ ।
आव ०७१÷०७२ मा १ लाख २१ हजार ५ सय ४३, आव ०७०÷७१ मा १ लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पशुपालन व्यवसायमा किसानको सङ्ख्या बढ्नुका साथै कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार र उन्नत जातका घाँस खेतीले दूध उत्पादनमा वृद्धि भएको पशुसेवा कार्यालयका प्राविधिक डिगबहादुर कार्कीले जानकारी दिए ।

इलाममा उत्पादित दूधबाट किसानले गतवर्ष ४ अर्ब ७० करोड ६१ लाख रुपैयाँ आर्जन गर्न सफल भएका थिए । यहाँ उत्पादित दूध दैनिक ३६ हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा निर्यात हुँदै आएको कार्कीले जानकारी दिए ।
निजी स्तरबाट दैनिक २० हजार लिटर दूध इटहरी निर्यात हुने गरेको छ । जिल्लाका ५५ हजार बढी किसानले व्यावसायिक गाईपालन गर्दै आएका छन् । त्यसका लागि टिओसेन्टी, जै, सुडान, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत जातका घाँस लगाइएको छ ।

इलाममा दूधको मूल्य सरदर ३८ देखि ४० रुपैयाँ प्रतिलिटर रहेको छ । दुग्ध विकास संस्थान विराटनगरले दूध सङ्कलनका लागि इलाम नगरपालिकाको बिब्ल्याँटे र पुवाखोला, देउमाइ नगरपालिकाको शान्तिडाँडा, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र फिक्कल तथा रोङ गाउँपालिकाको कुटीडाँडामा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको छ ।

विभिन्न दुग्ध सहकारीमार्फत् ती केन्द्रहरूमा दूध सङ्कलन भएर विराटनगर निकासी गरिन्छ । यातायातको पहुँच नपुगेको ठाउँमा भने स्थानीय स्तरमा खुलिएका निजी तथा सहकारी कारखाना, ललिपप उद्योग र निजीस्तरका डेरीले उत्पादित दूध खपत गर्दै आएका छन् ।