धरानः बीपी अध्ययन प्रतिष्ठान सुनसरीले शनिबार ‘आजको सन्दर्भमा बीपीको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले विभेदरहित ढङ्गले सम्मान र सद्भाव हुनु नै समाजवाद भएको बताए । बीपीवादलाई काङ्ग्रेसले बिर्सँदै गएकाले नै यसको शाख खस्केको उनको भनाइ थियो । बीपीको विचारपथमा हिँड्नेबित्तिकै नेपाली काङ्ग्रेस मुलुकको पहिलो दल हुने उनले बताए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङले पछिसम्म बीपीका विचारहरू सान्दर्भिक रहने बताउँदै काङ्ग्रेसले बीपीले देखाएको बाटो बिराएको वर्तमान अवस्थामा लोकतन्त्रसमेत धरापमा परेको बताए ।

प्रतिष्ठानकै प्रदेश नं १ का अध्यक्ष नन्द नेम्बाङ, काङ्ग्रेसका पुराना नेता गिरिराज आचार्य, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

गोष्ठीमा प्रतिष्ठानका जिल्ला अध्यक्ष विकास आचार्यले वर्तमानमा बीपीको आदर्श किताबमा सीमित भएकाले नै राजनीतिको यो हविगत भएको भन्दै बीपीका विचारहरू व्यवहारमा लागू भए मात्र राजनीतिबाट कालो बादल हटेर जाने बताए ।

गोष्ठीअघि प्रतिष्ठानको प्रदेशस्तरीय बैठक बसी विभिन्न निर्णय गरेको आचार्यले बताए । उनका अनुसार प्रदेश समितिका सदस्य तथा पदाधिकारीहरू एवं प्रदेश भित्रका जिल्लाका अध्यक्षहरू उपस्थित बैठकले स्थानीय तहसम्म प्रतिष्ठानको सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ ।

प्रदेश राजधानीमा कार्यालय तत्काल खोल्ने तथा काङ्ग्रेसका तरूण विद्यार्थीहरूलाई बीपी र बीपीका विचारहरूबारे प्रशिक्षण दिन प्रशिक्षकहरूको टोली तयार गर्नेसमेत निर्णय बैठकले गरेको आचार्यले जनाए ।