इलामः इलामको देउमाई नगरपालिका–४ बुधबारेका अशेष बुढाथोकि वैंकको जागिर छाडेर
दुबई गए । चार वर्षको वैदेशीक रोजगारीबाट फर्किएर उनले गाउँमानै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईमा वैंकबाट लिएको ऋण थपेर उनले शुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका हुन् । लगानी थपिदैजाँदा अहिले उद्योगमा ६५ लाख रुपैयाँ लगानी भइसकेको छ ।
इलामको माइजोगमाई गाउँपालिकाका मिलन खत्रीले २०७२ सालमा अढाई लाख रुपैयाँ लगानी गरेर डेरी उद्योग थालेका थिए । उनले अहिले इलाम नगरपालिका–७ सदरमुकाममानै सेतो पहाड डेरी उद्योग सञ्चालन गरेका छन् । डेरी उद्योगको क्षमता बढाउँदा ५५ लाख रुपैयाँजति लगानी भइसकेको छ ।
दुुध उत्पादनमा अब्बल मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दा लगानी बढेको हो । पछिल्लो तीन वर्षयता जिल्लामा डेरी उद्योगमा मात्रै वर्षेनी १० करोड रुपैयाँ हाराहारी लगानी थपिदै गएको छ । घरेलु तथा साना उद्योग शाखा कार्यलयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷०७६ इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएको छ । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग शाखामा तथ्याङ्क छ । त्यस्तै २०७४÷०७५ मा ८७ वटा डेरी उद्योग स्थापना भएका थिए । ती उद्योगमा ११ करोड ४२ लाख ८८ हजार रुपैयाँ लगानी भएको थियो । आव ०७३÷०७४ मा सात करोड ३० लाख २२ हजार रुपैयाँको लगानीमा ७५ वटा डेरी उद्योग स्थापना भएको छ । डेरी उद्योगमा डेढ लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म लगानी गरिएका छन् । इलाममा हाल पाँचसय ४४ डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले बताए । यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको तथ्याङ्क छ । आव २०७४÷०७५ यता मात्रै २६ करोड ५१ लाख रुपैयाँ लगानी भएको बताइएको छ । इलाममा सञ्चालित उद्योगले वार्षिक ७८ करोड रुपैयाँको दुग्धजन्य पदार्थ उत्पादन गर्ने गरेका छन् । आव २०७४÷०७५ यता खोलिएका उद्योगले मात्रै बार्षिक ४८ करोड ५८ लाख रुपैयाँको उत्पादन गर्ने गरेका छन् ।