इटहरीः चाडपर्वको समय नजिकिँदै जाँदा बजार क्षेत्रलाई सुरक्षामा सहयोग हुने गरी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा इटहरीको मुख्य चोकमा सिसी क्यामेरा जडान गरिने भएको छ ।
इटहरी बजार क्षेत्रमा चोरीका घटना पछिल्ला दिनमा बढ्दै गएपछि उद्योग वाणिज्य सङ्घ, नगरपालिका र प्रदेश सरकारको लगानीमा इटहरी चोकको चारै दिशामा २÷२ वटा गरी जम्मा ८ वटा सिसी क्यामेरा जडान गरिने भएको हो ।
चाडबाड नजिकिएको अवस्थामा घरायसी तथा व्यावसायिक क्षेत्रमा सम्भावित चोरी, डकैतीलाई रोक्न सिसी क्यामेरा राख्न लागिएको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेश बिष्टले बताए । ‘भर्खरै मात्र विभिन्न व्यावसायिक संस्थामा चोरीका घटना भए । ती घटनामा संलग्न कतिपयलाई हालसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन’, बिष्ट भन्छन्, ‘हाम्रो सानो प्रयासबाट अबका दिनमा यस्ता घटनामा कमी होस् भएर सिसी क्यामेरा राख्न लागेका हौँ ।’
उद्योग वाणिज्य सङ्घ, नगरपालिका र प्रदेश सरकारकै योजनामा इटहरीलाई सिसी क्यामेराको सुरक्षामा राख्न लागिएको हो । पछिल्लो समय ठूलो बजारको रूपमा स्थापित हुँदै गएको इटहरी मुख्य चोकमा डिजिटल निगरानी भएपछि सुरक्षा चुनौती कम हुने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ बताउँछन् ।
‘डिजिटल निगरानी हुँदैछ भन्ने थाहा भएपछि मानिसहरू आफँै सजग हुने गर्दछन्,’ श्रेष्ठ भन्छन्, ‘यदि अपराध भइगयो भने पनि अनुसन्धानमा ठूलो सहयोग गर्ने भएकाले अपराधको दरमा कमी आउँछ ।’
पछिल्लो समय इटहरी चोक आसपास चोरीका घटना बढ्दै गएकाले डिजिटल सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न लागिएको उनले बताए ।
प्रहरी र व्यवसायीबीच छलफल
नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै इटहरी उद्योग वाणिज्य सङ्घ र इटहरीका प्रहरी प्रमुखबीच छलफल भएको छ । पछिल्लो समय इटहरीको शान्ति, सुरक्षा स्थिति खस्किएर सुरक्षा चुनौती बढ्दै गएको भनी व्यवसायीले छलफलमा आफ्ना भनाइ राखेका थिए । नगरको सुरक्षाको निम्ति प्रहरी सजग हुनुपर्ने व्यवसायीले आग्रह गरेका थिए ।
सडक बालबालिकाको व्यवस्थापन गर्नुपर्ने
इटहरी आसपासमा सडक बालबालिकाहरूको सङ्ख्या बढ्दै गएको र उनीहरूले सुरक्षा संवेदनशीलतामा प्रभाव पार्न सक्ने डिएसपी श्रेष्ठले बताए । ‘सडक बालबालिकाले गर्दा सबै क्षेत्रमा प्रभाव पर्दछ’, श्रेष्ठले भने, ‘यो सबैको समस्या हो यसलाई सबै मिलेर व्यवस्थित गर्दै नियन्त्रण गर्नु आवश्यक छ ।’
सो कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष लीलम बस्नेत, वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, कमला खड्का, दिवस पोख्रेल, गायत्री भण्डारी, कमल पौडेल लगायतका व्यवसायीहरूले व्यावसायिक सुरक्षाको विषयमा बोलेका थिए ।