धनकुटाः करीब ३ वर्ष अघिसम्म पर्यटकको पाइला नै नपुग्ने धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ स्थित ओख्रे अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय पर्यटकको आकर्षण बढ्नुको कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यु टावर नै हो । टावर निर्माण भएकै कारण अहिले १ हप्तामै ८ सय भन्दा बढी पर्यटक आउन थालेको स्थानीय मोहन थापा बताउँछन् ।
‘पहिलेपहिले पर्यटक भेडेटार आउँथे भेडेटारबाट यही बाटो हुँदै डाँडाबजार, राजारानी जाने गर्दथे, यहाँ रोकिदैँनथे,’ थापा भन्छन्, ‘तर माथि डाँडामा भ्यु टावर बनेपछि यहाँ पनि पर्यटक रोकिन थालेका छन् ।’
उसो त भेडेटारको भ्यु टावर २०७२ सालको भूकम्पले भत्काएपछि भ्यु टावर चढेर मनोरञ्जन लिने पर्यटक ओख्रे भ्यु टावरसम्म पुग्ने गरेका हुन् । भेडेटार र यहाँको मौसम र भूगोलमा खासै अन्तर छैन । मौसम खुलेको बेला यहाँबाट विभिन्न हिमाल, पहाड तथा तराईको फाँटिलो क्षेत्र देख्न पाइन्छ । करीब १५ लाख रुपैयाँको लागतमा यो भ्यु टावर पर्यटन विकास कार्यालय काँकरभिट्टाले ४ वर्ष अघि निर्माण गरेको हो ।
धनकुटामा मात्रै दर्जन बढी
धनकुटासहित पूर्वी पहाडका डाँडाडाँडामा भ्यु टावर बनाउने क्रम बढ्दो छ । पहिले पर्यटन कार्यालय काँकरभिट्टा र तत्कालीन जिविसले निर्माण गर्ने गरेका थिए । अहिले भने स्थानीय तह भ्यु टावर निर्माणमा अग्रसर छन् । धनकुटामा ओख्रे, चौबिसे गाउँपालिकाको जेफाले, साँगुरीगढीकै ध्वजे डाँडामा गरी ३ ओटा टावर निर्माण भइसकेका छन् ।
त्यस्तै, भेडेटारमा करीब २ दशकअघि निर्माण गरिएको धनकुटाकै पहिलो भ्यु टावर २०७२ सालको भूकम्पले जीर्ण बनाएपछि सो भत्काएर नयाँ निर्माण गरिएको छ । भेडेटारको भ्यु टावर पूर्वी पहाडकै पुरानो भ्यु टावर हो । त्यस्तै धनकुटा नगरपालिकाको चुलिबन, शहीदभूमि गाउँपालिकाको छिन्ताङस्थित पातले डाँडामा भ्यु टावर निर्माणको क्रममा रहेका छन् ।
यता शहीदभूमि गाउँपालिकाकै घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेक डाँडा र धनकुटा नगरपालिकाको कागतेमा समेत भ्यु टावर निर्माण गर्ने तयारी गरिएको छ ।
पूर्वी पहाडको भ्यु टावर मोह
धनकुटामा मात्र नभई पूर्वी पहाडका प्राय सबै जिल्लामा भ्यु टावर बनाउने क्रम तीव्र छ । धनकुटासँग सिमाना जोडिएको तेह्रथुममा पनि भ्यु टावर बनाउने क्रम बढ्दो छ । अहिले तेह्रथुममा छथर गाउँपालिका, म्याङलुङ बजार, तीनजुरे तथा आठराईमा भ्यु टावर निर्माणको क्रममा रहेको छ । वसन्तपुरमा यसअघि नै भ्यु टावर निर्माण भइसकेको छ । यसले कुनै न कुनै रूपमा पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।
यता धनकुटापूर्वका इलाम र पाँचथर जिल्लामा समेत भ्यु टावर बन्ने क्रम जारी छ । इलामको इलाम सदरमुकाम र श्रीअन्तुमा भ्यु टावर निर्माण गरिएको छ । यता रोङ गाउँपालिकाको रमितेमा भ्यु प्वाइन्ट निर्माण गरिएको छ । पर्यटकीय स्थल सन्दकपुरमा भ्यु टावर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै पाँचथरको पाँचथर सदरमुकाम फिदिमस्थित रमितेमा भ्यु टावर निर्माण भइसकेको छ । मिक्लाजुङ र फालेलुङ गाउँपालिका पनि भ्यु टावर निर्माणको तयारीमा छन् ।
त्यस्तै, भोजपुर जिल्लाको ट्याम्के डाँडामा भ्यु टावर निर्माणको क्रममा रहेको छ । अन्य स्थानमा पनि डीपीआर तयार भएका छन् तर काम भने अघि बढ्न सकेको छैन । यता, हिमाली जिल्ला ताप्लेजुङ र सङ्खुवासभामा भने खासै भ्यु टावर मोह देखिँदैन ।
कतै आवश्यक कतै अनावश्यक
उच्च स्थानमा रहेका यस्ता डाँडाबाट तराई, पहाड, हिमाल, फाँट खोलानालासहित धरै स्थान देखिने भएकाले भ्यु टावरप्रति आकर्षण बढेको पर्यटकहरू बताउँछन् । तर डाँडा आफैँमा एउटा प्राकृतिक भ्यु टावर भएकाले सबै ठाउँमा भ्यु टावर आबश्यक नहुने पर्यटन व्यवसायी बताउँछन् । यसैलाई मध्यनजर गर्दै पर्यटन कार्यालय काँकरभिट्टाले केही वर्ष अघिबाटै भ्यु टावरमा लगानी गर्न छाडेको पर्यटन कार्यालय काँकरभिट्टाका तत्कालीन सबइञ्जिनियर थिरेन्द्र दाहाल बताउँछन् । ३ वर्ष अघिसम्म सो कार्यालयमा कार्यरत दाहालले ४ वर्ष अघिबाटै सो कार्यालयले भ्यु टावरमा लगानी गर्न छाडेको बताए ।
‘डाँडो आफैँमा प्राकृतिक भ्यु टावर भएकाले हामीले त्यो बेलादेखि नै अन्य पूर्वाधारमा लगानी गरे पनि भ्यु टावरमा लगानी गर्न छाडेका थियौँ’, दाहाल भन्छन्, ‘निर्माण भएका सबै स्थानका भ्यु टावर प्रयोगसमेत हुन सकेका छैनन् । धनकुटाको भेडेटार र ओख्रे, इलामको अन्तु, पाँचथरको रमिते लगायतका टावर व्यस्त भ्यु टावरको रूपमा रहेका छन् । यीबाहेक अन्य भ्यु टावरमा आंशिक रूपमा मात्र पर्यटक पुग्ने गरेका छन् ।
स्थानीयलाई फाइदा
भ्यु टावर निर्माण भएपछि पर्यटकको चाप बढ्दा स्थानीयलाई समेत धेरै फाइदा पुगेको छ । स्थानीय स्तरमै कृषिजन्य उत्पादनको खपत, होटल लगायत विभिन्न पेसा व्यवसायलाई फाइदा पुगेको छ । टावरमा पर्यटकको चाप बढेकै कारण स्थानीय स्तरमा उत्पादन भएको कृषिजन्य उत्पादन बिक्रीका लागि बजार खोज्नुपर्ने अबस्था नरहेको तथा होटल व्यवसाय सञ्चालन गर्ने क्रम बढेको साँगुरीगढी गाउँपालिकाको ओख्रेका बासिन्दा सुन्दर रानामगर बताउँछन् । त्यस्तै, अन्य घरेलुजन्य उत्पादन तथा होटल व्यवसायीलाइ प्रत्यक्ष फाइदा पुगेको छ ।
टुर न्युज मासिकबाट