झापाः मेचीनगर नगरपालिकाले नगरवासीलाई भवन मापदण्ड २०७४ अनुसार भवन निर्माण गर्न तथा सहकारी संस्थाहरूलाई विवरण पेश गर्न आग्रह गरेको छ ।

नगर क्षेत्रभित्र व्यक्ति तथा सङ्घ संस्थाहरूले नगरपालिकाबाट घरनक्सा स्वीकृत नलिई भवन निर्माण गरेको, भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम प्राप्त निर्माणकर्मीबाहेकबाट भवन निर्माण हुने गरेको गुनासो बढेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले जारी गरेको सार्वजनिक सूचनामा अनाधिकृत रूपमा धमाधम भवन निर्माण भइरहेको, नगरपालिकाबाट स्वीकृत नलिई भवन निर्माण गरेको गुनासो आएको बताइएको छ । त्यस्तै, भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिमप्राप्त निर्माणकर्मीबाट भवन निर्माण नगरिएको हुनाले नियमअनुसार गर्न गराउन अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

कसैले नियम विपरीत निर्माण कार्य गरेको गराएको पाइएमा नियमअनुसार कार्वाही हुने बेहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।

विवरण पेश गर्न सहकारीलाई अनुरोध
यसैगरी नगरपालिकाले नगरभित्रका सहकारी संस्थालाई आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ । साबिक डिभिजन सहकारी कार्यालयअन्तर्गत रहेका सहकारी संस्था स्थानीय तहअन्तर्गत आएकाले नगरले विवरण पेश गर्न अनुरोध गरेको बताइएको छ ।