विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरीजवाफ तथा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर प्याब्सनले प्रत्येक वर्ष निजी विद्यालयमा अध्ययरत विद्यार्थीमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको जनाएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा पथरीको पेगोडा पहिलो भएको छ । त्यस्तै, रङ्गेलीमा रहेको भानु मेमोरियल स्कुल विराटनगरको सगरमाथा स्कुल दोस्रो र तेस्रो भएका छन् । केराबारीको केयु एकेडेमीले सान्त्वना पुरस्कार हात पारेको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, हिज्जे प्रतियोगितामा विराटनगरको मदरल्याण्ड एकेडेमी पहिलो हुँदा रङ्गेलीको न्यु स्टार दोस्रो र विराटनगरको दिल्ली पब्लिक स्कुल तेस्रो भएका छन् । सो प्रतियोगितामा चौथो भएर सुन्दरहरैचाको क्वेस्ट सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार हात पारेको प्रतियोगिताका संयोजक रमेश मिश्रले बताए ।

panson quest

प्याब्सनका अनुसार हाजिरीजवाफ प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हात पार्ने विद्यालयले क्रमशः २५, २०, १५ र १० हजार रुपैयाँ नगदका साथमा मेडल र ट्रफी प्राप्त गरेका छन् । हिज्जे प्रतियोगितातर्फ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाउने विद्यालयले क्रमशः १५, १०, ५ र ३ हजार रुपैयाँसहित मेडल र ट्रफी पाएको बताइएको छ ।

प्रतियोगितामा २ सय २० भन्दा बढी विद्यालय सहभागी भएको प्याब्सनका मोरङ अध्यक्ष सुनिल पौडेलले जानकारी दिए । प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्याब्सनका केन्द्रीय सदस्य राजेश दास, हेमन्त कार्की, पूर्व अध्यक्ष बासुदेव न्यौपाने र वर्तमान अध्यक्ष सुनिल पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।