इलामः इलामको रोङ्ग गाउँपालिकामा अध्यक्ष मौरी लघुउद्यम कार्यक्रम सञ्चालन भएको छ । महमा आत्मनिर्भर बन्न परम्परागत घारमा मौँरी पालन गर्दै आएका किसानलाई व्यवसायीकरण गर्न कार्यक्रम सुरु गरिएको पालिकाले जनाएको हो । कार्यक्रमले पालिकाका व्यवसायिक किसानलाई अनुदान प्राप्त गर्न योग्य छ कि छैन भनेर छनोट गर्ने रोङ्ग मौँरी विकास केन्द्रका संयोजक कुमार मोक्तानले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा मौरी पालक किसानका लागि मात्रै १५ लाख वजेट विनियोजन भएको छ ।’ यस वर्ष नियमित अनुगमन गर्ने कार्यक्रम रहेको छ । अनुगमनकै क्रममा कार्यप्रगतीका आधारले पहिलो हुनेलाई सतप्रतिशत, दोस्रो हुनेलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने पालिकाको योजना रहेको छ । अहिले पालिकाको आफ्नै १२ घारबाट समेत मह उत्पादन हुन थालिसकेको छ । रोङ्गबाट मात्रै वार्षिक १० क्वीटल मह उत्पादन गर्ने लक्ष्य लिएको छ । तीन आर्थिक वर्षमा मौरी व्यवसायका लागि मात्रै पालिकाले ४३ लाख वजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा आठ लाख वजेट विनियोजन गरी पहिलो चरणको कार्यक्रम सम्पन्न भईसकेको छ । दोस्रो चरणमा आर्थिक वर्ष २०७५÷०७६ मा २० लाख रकम विनियोजन गरिएको थियो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा भने १५ लाख रकम विनियोजन गरी लघुउद्यम कार्यक्रम सञ्चालन भईरहेको छ । पहिलो चरणको आठ लाख रकमले परम्परागत घारमा मह उत्पादन गरीरहेका ६० किसानलाई तालिम, घार अनुदान र मौरी पालनका लागि जग्गाको व्यवस्था गर्ने कार्यमा खर्च भएको थियो । दोस्रो चरणको २० लाख रकमले ६० जना किसानलाई तालिम, पालिकाको आफ्नै नाममा मह उत्पादनका लागि १२ घारमा व्यवस्थित मौरी व्यवसाय सुरु गरेको थियो । पालिकालाई मौरी जोन बनाउने लक्ष्य रहेको पालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष सुवास तामाङ्गले जानकारी दिए । जिल्लाका रोङ, माइजोगमाई गाउँपालिका, इलाम, सूर्योदय नगरपालिकामा मौरीपालन हुने गरेको छ । सरकारी तथ्यांक अनुसार इलामका एक हजार ६ सय कृषकले मौरीपालन गर्ने गरेका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ ।