इटहरीः इटहरी र रामधुनीबीच भएको सीमाको विवादको समाधनको लागि आइतबार भएको छलफलमा रामधुनी नगरपालिका अन्तर्गत पर्ने जग्गाको कर इटहरीले लिँदै आएको पाइएको छ । साबिक सिंगिया १ ‘ख’ को २७० नम्बर कित्ताको राजस्व इटहरीमा बुझाउनुपरेको बताइएको छ ।

यसरी शुरु भयो विवाद
नक्साअनुसार देखिएको आफ्नो कित्तामा हालै रामधुनी नगरपालिकाले स्वागत बोर्ड राख्न चाहेको थियो । स्वागत बोर्ड राख्ने क्रममा पकलीका स्थानीयले विरोध गरेपछि विवाद सतहमा आएको थियो । विवादित कित्ताको स्वामित्व भएका राजकुमार निरौलाले २०३५ सालदेखि नै आफूले तत्कालीन पकली गाविसमा राजस्व बुझाउँदै आएको बताए । नक्सा अनुसार आफ्नो जग्गा सिंगिया गाविसमा पर्ने भए पनि पकली गाविसमा जाँदा त्यहाँका कर्मचारीले हामी मिलाउँछौं भनेपछि पकलीमै राजस्व बुझाएको उनले बताए ।

इलाका प्रहरी कार्यालय पनि पकलीकै कित्तामा
त्यसो त इलाका प्रहरी कार्यालय पकली पनि रामधुनीको कित्ताअन्तर्गत नै रहेको छ । रामधुनीकै कित्तामा रहेका कारण पहिले सो कार्यालयको नाम नै भासी पकली राखिएको थियो । पछि मात्र नाम परिवर्तन गरी पकलीमात्रै राखिएको इलाका प्रहरी प्रमुख अम्बरबहादुर निरौलाले जनाए ।

इलाका प्रहरी कार्यालय पकलीमा भएको छलफलमा रामधुनीका तर्फबाट मेयर जयप्रकाश चौधरी, वडा नम्बर १ का अध्यक्ष महेश चौधरी, वडा नम्बर ३ का अध्यक्ष राजकुमार चौधरी, वडा सदस्य बिन्देश्वर चौधरी, झुम्का उद्योग वाणिज्य सङ्घका अध्यक्ष धर्मेन्द्र साह, महासचिव नवीन चौधरी सहभागी थिए ।
इटहरीका तर्फबाट वडा नम्बर १७ का अध्यक्ष भगवानलाल साहका साथै वडा सदस्य र इलाका प्रहरी कार्यालय पकलीका इन्चार्ज अम्बरबहादुर निरौला तथा पकलीका स्थानीयवासी उपस्थित थिए ।