इटहरीः शनिबार बिहान ८ बजेपछि इटहरी रङ्गशाला स–साना बालबालिकाहरूले झकिझकाउ थियो ।  उनीहरूमध्ये कसैले मेस्सी, कसैले नेमार र कसैले हाजार्डजस्ता विश्वप्रसिद्ध खेलाडीका नाम भएका जर्सी लगाएर आएका थिए । उनीहरू खेल खेल्न नभई भविष्यमा नेमार, मेस्सी र हाजार्डजस्तै फुटबल खेलाडी बन्ने सपना बोकेर एन्फा ग्रासरुट फुटबल फेस्टिभलमा सहभागी भएका थिए ।

६ सय हाराहारी विद्यार्थीहरू सहभागी भएको अखिल नेपाल फुटबल सङ्घको कार्यक्रममा सहभागी निजी विद्यालयहरू मात्रै थिए । आ–आफ्ना विद्यालयका गाडीमा आएका निजी विद्यालयका विद्यार्थीहरूसँगै सरकारी विद्यालयका सहभागीहरू भने थिएनन् । एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, सुनसरीको विगठित जिल्ला खेलकुद विकास समिति अध्यक्ष अनुरोध थापासमेत उपस्थित कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीहरू उपस्थित थिएनन् ।

20180915_082157झ

अरु त अरु इटहरी रङ्गशाला नजिकैको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिएनन् । यो कुराको पुष्टि जनता स्कुलका प्रधानाध्यापक छत्रपति ढुङ्गेलले गरे । सुनसरीस्तरीय ग्रासरुट क्याम्प भनिए पनि सुनसरीका खेलप्रेमी भनेर चिनिएका सामुदायिक विद्यालयका विद्यालयहरूलाई पनि बेवास्ता गरेको पाइएको छ ।

इनरुवाको खेलकुद क्षेत्रमा प्रसिद्ध भगवती माध्यमिक विद्यालयलाई पनि कुनै जानकारी नभएको पाइएको छ । भागवती माध्यमिक विद्यालयकी प्रधानाध्यापक गङ्गा पौडेल बरालले आफ्नो विद्यालय खेल क्षेत्रमा अगाडि बढे पनि यो विषयमा कुनै जानकारी नभएको बताइन् ।

DSC_0568

उनले भनिन्, ‘हाम्रो विद्यालयका ५ सय ५० हाराहारी विद्यार्थीहरूमा धेरै खेलाडीहरू कबड्डीमा राष्ट्रिय स्तरका छन् र फुटबलमा पनि अब्बल छन् तर त्यस्तो महत्वपूर्ण फुटबल खेलाडी छनोटमा केही पनि जानकारी सम्म दिइएन ।’

इनरुवाको खेल क्षेत्रमा अब्बल भगवती माध्यमिक विद्यालयमा मात्रै होइन धरानको पुरानो र प्रसिद्ध शिक्षा सदन माध्यमिक विद्यालयसहित अन्य विद्यालयलाई कुनै जानकारी नदिइएको पाइएको छ । धरानको शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बस्नेतले एन्फा ग्रासरुट क्याम्पको बारेमा आफूहरूलाई कुनै जानकारी नै नभएको बताए । उनले भने, ‘हाम्रो विद्यालयमा पनि केही राम्रा प्रतिभाहरू छन् । तर, एन्फाको राष्ट्रिय कार्यक्रममा सदस्य सचिवकै गृह जिल्ला धरानको हाम्रो विद्यालयलाई जानकारी दिइएन ।’

 

सार्वजनिक विद्यालय समावेश गरेको अध्यक्ष कार्कीको झुटो दाबी
सरकारी सहयोग पनि हुने सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा अन्य जिल्लामा भएजस्तै सुनसरीमा पनि भएको एन्फा ग्रासरुट फुटबल क्याम्पमा सरकारी विद्यालय सहभागी भएको अध्यक्ष केशब कार्की भने दाबी गर्छन् । उनले मोबाइल कुराकानीमा भने, ‘हामीले सरकारी विद्यालय पनि समावेश गरेका छौँ । जनता स्कुल सहभागी थियो ।’

जनता स्कुल सहभागी नभएको त रङ्गशाला र विद्यालयका प्रधानाध्यापकले नै पुष्टि गरेका छन् । जनताबाहेक अन्य कुनकुन सरकारी विद्यालय सहभागी भए भन्ने प्रश्नमा अध्यक्ष कार्कीले यो प्रश्नको थप जवाफ सङ्घका कोषाध्यक्ष कोबिदजंग कार्कीसँग हुने भन्दै पन्छिए । उता, कोषाध्यक्ष कार्कीले भने सामुदायिक विद्यालयलाई पत्र काटेर जानकारी गराइए पनि ती विद्यालय सहभागी नभएको बताए ।

 

समाचारमा भने सार्वजनिक विद्यालय समावेश भएको दाबी
सुनसरीका ३ सय ७० सरकारी विद्यालयमध्ये कुनै पनि विद्यालय फुटबल क्याम्पका सहभागी भएनन् । तर, सुनसरी जिल्ला फुटबल सङ्घले तयार गरेर बाँडेको विज्ञप्तिमा भने सार्वजनिक विद्यालय पनि समावेश गरिएको प्रचार गरिएको छ ।

सुनसरी डेटलाइनमा समाचार लेखेर सुनसरीका सञ्चारकर्मी र सञ्चारमाध्यममा पठाइएको समाचारमा भनिएको छ, ‘इटहरीमा शुरु भएको फुटबल क्याम्पमा सुनसरीका २ दर्जन बढी संस्थागत र सामुदायिक विद्यालयहरूका ५ सय बढी विद्यार्थीहरू सहभागी छन् ।’ तर, प्रेषित समाचारमा भनिएजस्तो कुनै पनि सार्वजनिक विद्यालयहरू कार्यक्रममा सहभागी भने थिएनन् ।

20180915_081828

मलाई चार सरकारी विद्यालय छन् भनियोः उपमेयर गौतम
सुनसरीमा ८ वर्षदेखि १२ वर्ष उमेर समूहका बाल खेलाडी उत्पादन गर्ने एन्फा ग्रासरुट क्याम्प उद्घाटन गरेकी इटहरीकी उपमेयर लक्ष्मी गौतमले आफूलाई सरकारी विद्यालयहरू समावेश गरेको आयोजकले सुनाएको बताइन् । उनले भनिन्, ‘मैले स्थलमा पुगेर कुन सरकारी विद्यालय आए भन्दा आयोजकहरूले ४ वटा आएको बताए तर नाम बताएनन् ।’