संविधानप्रति नै असन्तुष्ट रहेको दल सङ्घीय समाजवादी फोरम नेपाल हाल सरकारमा छ । संविधान संशोधन गर्ने लिखित सहमतिसहित सरकारमा सामेल भएको फोरम नेपाल अहिले मौन देखिएको छ । संविधान संशोधनको लागि कुनै अभ्यास भएको पाइँदैन । प्रदेश संरचना, नाम र राजधानीको विषयमा उसको धारणा, बाँकी राजनीतिक एजेण्डालगायतका विषयमा संसफो नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईसँग विनय बाह्रकोटीले गरेको संवादः

देशैभर प्रशिक्षण कार्यक्रमलाई तीव्र पारिरहनु भएको छ । के यो क्षेत्रीयबाट राष्ट्रिय पार्टी बन्ने प्रयास हो ?
हामीले देशैभर प्रशिक्षण गरिरहेको सही हो । जनतालाई सङ्घीय समाजवादी फोरम नेपाल भनेको के हो भन्ने जानकारी दिनु छ । हामीले विगतमा उठाएका राजनीतिक एजेण्डाको विषयमा सुसूचित गर्न जरुरी देखेर प्रशिक्षण कार्यक्रम भइरहेको छ । जहाँसम्म तपाईँको क्षेत्रीय पार्टीको कुरा हामी कहिल्यै क्षेत्रीय पार्टी थिएनौँ र छैनौँ पनि । पार्टी भनेको एजेण्डाको हिसाबमा क्षेत्रीय र केन्द्रीय भन्ने हुन्छ हामीले एउटा भूगोलको लागि मात्र नभएर देशकै लागि लडिरहेकाले हामी जहिल्यै राष्ट्रिय पार्टी हौ ।

खासमा तपाईंहरू कम्युनिष्ट हो कि काङ्ग्रेस ?
हामी दुवै होइनौँ । हामी सङ्घीय समाजवादी हौँ । कम्युनिष्टसँग केही कुरा मिल्छन्, काङ्ग्रेससँग पनि केही मिल्छन् तर हामी दुवै होइनौं ।

यसको मतलब तपाईंहरूले जातीय र क्षेत्रीय राजनीति त्याग्नुभएको हो ?
हामीले जातीय र क्षेत्रीय राजनीतिलाई प्रश्रय दिएका होइनौं । यसको गलत प्रचार गरियो । हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौँ । पहिचान भनेको जात र धर्म मात्र होइन । देशको पनि आफ्नै पहिचान हुन्छ । देशभित्र रहने जनताको पनि आआफ्नै पहिचान हुन्छ । हामीले त्यही पहिचानको रक्षा गरिनुपर्छ भनेका हौँ । र त्यही पहिचानको आधारमा सङ्घीयता हुनुपर्छ भनेका हाैं ।

संविधान संशोधनको विषयमा लिखित सहमति भएर सरकारमा जानुभयो । तर अहिले संविधान संशोधनको विषयमा मौन हुनुहुन्छ । के यो सब सरकारमा जाने प्रपञ्च मात्र हो ?

त्यसो हैन । हामीले संविधान संशोधनको विषयमा लिखित सहमति गरेकै हौँ । तर संविधान संशोधनको विषयमा व्यापक छलफल भइरहेको छ । हामी हाम्रो मागमा एक रति विचलित भएका छैनौँ । अहिलेसम्म राजनीतिक सहमति हुन सकिरहेका छैनौँ । यदि हामी सरकारमा जाँदा गरेको सहमति कार्यान्वयन हुन सकेन भने हामी सरकारबाट बाहिरिन्छौँ र पुनः सङ्घर्ष गर्छौँ ।

हिजो ओली सरकारको पालामा तपाईंहरूले नाकाबन्दी गर्नुभयो । अहिले ओलीकै नेतृत्वको सरकारमा हुनुहुन्छ यसले पनि तपाईंहरू सत्ताको भोको भन्ने देखाउँदैन र भन्या ?

कुरा त्यसो होइन । हामीले कुनै पात्रको विरोध गरेकै होइन । उसको शैली र प्रवृत्तिको मात्र विरोध गरेका हौँ । हिजो ओलीले पहिचान र जनविरोधी विरोधी कुरा गर्नुभयो हामीले विरोध गर्याैँ। अहिले उहाँ सच्चिएर आउनुभयो हामीले समर्थन गर्याै। खास कुरा हामीले भनेको विषयमा को कति सचेत छ भन्ने हो ।

तपाईंहरूसँगै नाकाबन्दीको समर्थन गरेका र आन्दोलन गरेका राजनीतिक दलहरू अहिले पनि आन्दोलनमै छन् । तपाईंहरू चाहिँ सरकारमा जानुपर्ने के जरुरत पर्यो ?

आन्दोलन सरकारमा गएर तुहिने होइन । बरु सरकारमा गएपछि स्पष्ट दुई तिहाइ पुग्ने हुँदा संविधान संशोधन गर्न सहज पर्ने देखियो । त्यसैले हामीले आन्दोलनको अपमान गरेका होइनौं बरु आन्दोलनलाई मूर्त रूप दिन सरकारमा गएका हाैं।

प्रदेश नं १ को नाम र राजधानीको बारेमा के धारणा छ ?
हाम्रो केही धारणा छैन । यो सङ्घीयतामा हाम्रो असहमति छ । हामी १० वटा प्रदेश र एउटा विशेष प्रदेश गरी ११ प्रदेशको पक्षमा छौँ । सङ्घीयताले जुन विषय समेट्नुपथ्र्यो त्यो समेट्न सकेन । जबसम्म हामीले भनेजसरी संविधान संशोधन हुन सक्दैन तबसम्म यो राज्यपुनर्संरचनाको बारेमा कुनै धारणा हुँदैन ।

तपाईंहरूले भनेजसरी संशोधन भएन भने त तपाईंहरूको एजेण्डा तुहिने भयो नि ?
अहिलेसबै तिर यही प्रचार भइरहेको छ । हामी कहिल्यै एजेन्डाविहीन हुँदैनौ । आज हामीले उठाएका विषय भोलिको पुस्ताले प्रमाणित गर्नेछ । हिजो नेपालमा कम्युनिष्ट पार्टीहरूले २००७ सालमै गणतन्त्रको कुरा उठाएका थिए तर अहिले आएर पूरा भयो । त्यसकारण आजको हाम्रो एजेन्डा पनि भोलिको पुस्ताले पूरा गर्नेछ ।

सङ्घीयताकै कारण कर बढ्यो भन्दै विरोध शुरु भएको छ अब यो सङ्घीयता टिक्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
म पूर्ण विश्वस्त छु । तर त्यसको लागि पहिचानको आधारमा सङ्घीयताको बाँडफाँड गरिनुपर्छ । तपाईँले भनेजस्तो विरोधको कुरा त मैले सुन्या छैन । जहाँसम्म कर बढेको कुरा छ । त्यो वास्तवमै अस्वाभाविक छ । तर सङ्घीयताको कारण कर बढेको हो होइन भन्ने विषय चाहिँ अनुसन्धान गर्न जरुरी छ ।

तपाईंहरू आफूलाई निकै समाजवादी मान्नुहुन्छ । तपाईंहरूले भनेको समाजवाद चाहिँ कस्तो हो ?
समाजवाद त सबैले भन्छन् । तर उनीहरू खाली वर्गीय कुरामा मात्र अल्झिएका छन् । हामी जातीय, वर्गीय, लैङ्गिक र समुदायगत उत्पीडनको विरुद्धमा छौँ । कुनै पनि किसिमको विभेद समाजमा रह्यो भने समाजवाद आउन सक्दैन भन्ने हाम्रो बुझाइ छ । त्यसैले हामी निरन्तर पहिचानको पक्षमा छौँ । जब पहिचानमा आधारित समाजवादी समाज निर्माण हुन्छ त्यो नै हाम्रो समाजवादको बाटो हो । न्याय र समानता सहितको समाज हाम्रो चाहना हो ।

सत्ता साझेदार दलहरूबीचको पार्टी एकता कत्तिको सम्भव छ ?
असम्भव छैन । पार्टी एकता र विभाजन हुनु नौलो कुरा होइन । तर मूलभूत रूपमा एजेन्डा मिल्नुपर्यो । अहिलेको नेकपाले ११ प्रदेश र पहिचानसहितको समाजवादी लोकतन्त्र लाई अङ्गीकार गर्यो भने एकता असम्भव देखिँदैन ।