इलामः चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ । नेपालमा प्रत्येक वर्ष फस्ट फ्लस चिया २५ देखि ३० लाख केजीसम्म उत्पादन हुन्छ । हरेक वर्ष फस्ट फ्लस चिया चैत पहिलो साताबाट टिप्न सुरु गरिन्छ । यस वर्ष कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभरका चिया उद्योगहरु अहिले ठप्प छन् । धेरै जसो चिया बगानले फस्ट फ्लसको चिया टिप्न सुरु नगर्दै कोरोना भाइरसको जोखिमले खेप्नुप¥यो ।
पहाडको चिया टिप्ने उपयुक्त समय सुरु भएको छ । तर, भाइरसका कारण २५ लाख केजी भन्दा बढि चियाले बजार पाउन नसक्ने अवस्था सृजना भएको छ । यस वर्ष पनि कोरोना भाइसका कारण चियाको पहिलो टिपाई वगानमा नै हुर्कने अवस्था आएसँगै किसानसमेत चिन्तित छन् । माघ अन्तिम साता वर्षा हुँदा किसान उत्साहित थिए । चिया उद्योगी पनि फस्ट फ्लस चियापत्ती कारखानामा टनाटन आउने विश्वासमा थिए तर, अहिले मुना पलाएको चिया बगानमा नै हुर्कदैँ गएको सूर्योदय टि प्रोडयुसर्स एशोसिएसनका सचिव गोपाल कट्टेल बताउँछन् ।
अर्थोडक्स चिया उत्पादन नहुने
नेपालमा कुल उत्पादनको १० प्रतिशत मात्र अर्थोडक्स चियाको खपत छ । स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको ग्रिन टी, ब्ल्याक टी, गोल्डन टी, ह्वाइट टी लगायतका विभिन्न अर्थोडक्स उत्पादन जर्मन निर्यात हुँदै आएको थियो । भाइरसको जोखिम यही अवस्थामा रहे नेपालका चिया कारखाना बन्द हुने अवस्थामा पुग्ने कट्टेल बताउँछन् । हरियो पत्तीको सिजन सुरु हुँदै गर्दा वर्षेनी मजदुर आन्दोलित हुने गरेका थिए । यसै कारण घाटा बेहोर्दै आएको चिया क्षेत्रले यस वर्ष पुनः कोरोना भाइरसको कारण बन्द भएको छ । चिया क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध ५० हजार मजदुर मारमा परेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा बताउँछिन् ।
चिया टिप्न स्थानिय सरकारको पहल
फस्ट फ्लसको पत्ती बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि स्थानिय सरकारले पहल थालेको छ । ‘फस्ट फ्लस’ (पहिलो टिपाईको चिया) बगानमानै हुर्की रहेको अवस्थामा प्रदेश १ सरकार र स्थानीय तहले जोखीम रहित अवस्थामा चिया बगान र कारखाना संचालनका लागि पहल थालेका हुन । चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले किसानको बर्ष भरीको मेहनत खेर जाने भएकाले चिया बगान र कारखाना संचालनका लागि पहल थालीएको जानकारी दिए । प्रमुख राईले थोरै कामदारले सम्बन्धीत निकायको निगरानीमा बसेर चिया टिप्ने बातावरण निर्माण गर्न चिया उद्योगी र किसान संग परामर्श भइरहेको बताए । नगर प्रमुख राईले भने ‘चिया बोटमै खेर जाने अवस्था आईसकेकाले हामी चाडै निर्णय गरेर सहज वातावरण बनाउछौ ।’ राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड संग समेछ छलफल भइरहेको उनले जानकारी दिए ।
इलामको देउमाई नगरपालिकाले कारखाना र बगानले तोकेका थोरै ब्यक्ति सुरक्षित रुपमा गएर चिया टिप्ने र कारखाना सम्म लैजाने ब्यवस्था गरेको छ । नगरले चिया बगानमै खेर जान थाले पछि कोरोनाको जोखीम न्यूनीकरणका लागि उच्च सचेतता अपनाउदै निश्चित ब्यक्तिको माध्यमबाट चिया बगान र कारखाना संचालनमा ल्याएको नगर प्रमुख सूर्य पोखरेलले जानकारी दिए उनले भने ‘कोरोना बाट बच्नका लागि सबै उपाय अपनाएर केहि कामदारको जिम्मामा बगान र कारखाना संचालन गर्नु पर्ने बाध्यता छ ।’
प्रदेश १ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर मगरले प्रदेश सरकार मार्फत संघीय सरकार संग पहल गरे चिया टिप्ने वातावरण बनाउन पहल थालेको जानकारी दिए । राज्य मन्त्री मगरले सिजनको चिया खेर जादा सिंगो कृषि क्षेत्र र अर्थतन्त्रमा नै समस्या पर्ने भएकाले सुरक्षित रुपमा चिया टिप्ने वातावरण बनाउन आफुले प्रदेश सरकार मार्फत पहल थालेको जानकारी दिए । ‘एकै दिन मात्र पनि ढिलो गर्दा चियाको मुना खेर जाने भएकाले हामी संवेदनशिल भएका छौ, सुरक्षा अपनाएर चिया खेर जान दिनु हुन्न ’ मन्त्री मगरले भने ।
स्थानीय तह र उद्योगीको पहलमा माक्स , सेनीटाईजर , पंजा , पीपीई प्रयोग गरी दुरी कायम गरेर थोरै मजदुरबाट चिया टिपाई गर्ने र सोही तरिकाले उक्त चिया निश्चित सवारी साधनको प्रयोग गरी कारखाना सम्म लैजाने जनाईएको छ । चिया उद्योगीले समेत कोरानाको महामारीको बेला चिया कारखाना संचालन गर्ने रहर नभए पनि किसान उद्योगी र देशकै हित सम्झेर सोच्ने बेला आएको बताएका छन् । फस्ट फ्लसको चियाको मूल्य कारखानाले समेत उच्च लगाउने गरेका छन । कारखानाले उत्पादन गरेको फस्ट फ्लसको चिया बिश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । चियाको पहिलो टिपाइ सुरु भए सँगै गत वर्ष इलामका चिया कारखानले कृषकलाई हरियो चिया पत्तिको मूल्य ६० देखि १०० रुपियाँ प्रति केजी सम्म र अर्गा्निक हरियो पत्तिको मूल्य १५० सम्म निर्धारण गरेका थिए । यस पटक प्रशोधन कारखाना नै अन्योलमा छन ।
सूर्योदय टि एशोसिएसनले उद्योग बन्द गर्न आग्रह
सूर्योदय टि प्रोडयुसर्स एशोसिएनले लकडाउन खुल्ला नहुन्जेलसम्म उद्योग बन्द गर्ने निर्णय गरेको छ । एसोशिएसनले विज्ञप्ती जारी गरेर चिया बगानमा कार्यरत श्रमिक, कर्मचारी, कृषक एवम उद्यमीहरुलाई संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको अनुरोध पालना गर्न आग्रह गरेको छ । एशोसिएनसको आग्रहपछि अहिले नगरमा संचालनमा रहेको ६२ वटै साना–ठुला उद्योग संचालनमा छैनन् ।
९ हजार बढि किसान चिया खेतीमा संलग्न
चिया खेती हुने १४ जिल्लामा ९ हजार २ सय ३६ किसान व्यवसायीक चिया खेतीमा संलग्न छन् । त्यसैगरी १६ वटा ठुला संस्थागत चिया बगान समेत रहेका छन् । तथ्यांक विभागले प्रकाशन गरेको व्यवासायिक चिया खेती सर्वेक्षण २०७५ अनुसार नेपालमा कुल १० करोड ८० हजार केजी हरियो चिया पत्ति उत्पादन हुने गरेको छ । इलाममा मात्र ५ हजार ५ सय ८२ साना किसान अर्थात ६० दशमलब ६ प्रतिशत हिस्सा ओगटेका छन् । इलाममा ३ हजार ३ सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको छ । जिल्लाको सवै स्थानिय तहमा चिया खेती हुँदै आएको छ ।