इटहरीः इटहरी उपमहानगरले आगामी शैक्षिक वर्षदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
इटहरी उपमहानगर शिक्षा महाशाखाको बैठकले पाठ्यक्रम तथा पाठयपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरी काम थाल्ने निर्णय गरेको छ । शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक सत्रदेखि इटहरीका विद्यालयको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीय विषयवस्तुमा आधारित हुने छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पुस्तक तयार पारिने भएको छ ।

पुस्तकमा राष्ट्रिय पाठयक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तु समेटिने कोइरालाले जनाए । कोइरालाका अनुसार सो पाठ्यक्रम लागू भएपछि कक्षा ८ पास गरेका विद्यार्थीले इटहरीको धेरै क्षेत्रको बारेमा जान्नेछन् ।

पाठयपुस्तकमा स्थानीय भूगोल, जातजाति, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायतका विषयवस्तु समेटिने कोइरालाले जनाए ।

सङ्घीयता कार्यान्वयनपछि पहिलो पटक दरबन्दी मिलान हुँदै
सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलो पटक विद्यालयहरूमा दरबन्दी मिलान गरिने भएको छ । दरबन्दी मिलानका लागि प्रतिवेदन तयार गर्न १५ दिनको समयसीमा तोकेर शिक्षा महाशाखा प्रमुख कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । दरबन्दी मिलान गर्दा ५० विद्यार्थी बराबर एक जना शिक्षक कायम गरिने कोइरालाले जनाए । अहिले इटहरीका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या धेरै पाइएको उनले बताए ।

संस्थागतको छात्रवृत्तिलाई कडाइका साथ लागू गरिने
संस्थागत विद्यालयले अनिवार्य दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई इटहरी उपमहानगरले कडाइका साथ कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । त्यसका लागि जेहेन्दार, विपन्न, दलित, गरीब विद्यार्थीले छात्रवृत्तिका लागि उपमहानगरको शिक्षा महाशाखामा निवेदन दिने अवधि असोज १५ गते सम्मका लागि थप गरिएको महाशाखाले जनाएको छ । यसअघि भदौ ३१ गते सम्मका लागि सो समय तोकिएको थियो । शिक्षा महाशाखामा आएका निवेदनमाथि छानबिन गरी संस्थागत विद्यालयलाई छात्रवृत्तिका लागि सिफारिश गरिने बताइएको छ ।