इटहरीः निरन्तर बढिरहेको नेपाली सेयर बजारको सोमबारको कारोबारमा भने घट्ने र बढ्ने क्रम चलिरह्यो । बजार ह्वात्तै बढ्ने र ह्वात्तै घट्ने क्रम एकै दिनमा ३÷४ पटक दोहोरिँदा कारोबारी र नयाँ लगानीकर्ता अलमलमा परेका छन् ।

बजारमा बिक्री चाप बढ्ने तथा खरिद चाप बढी नै भएको अवस्थामा पनि क्रेताले किनेकै मूल्यमा बिक्रेताले सेयर बेचेपछि नेप्सो दिनभर तलमाथि गर्दै हरियो र रातो रङमा लुकामारी खेलिरह्यो । २ वर्षसम्म बियरिस ट्रेन्डमा रहेको बजार अब बुलिस हुने धेरै लगानीकर्ताको अनुमान छ ।

नेप्से सूचक सोमबार ०.१३ अङ्कले घटेर १२५६.४० अङ्कमा रोकिएको छ । समग्रमा बजार ०.०१ प्रतिशतले तल झरेको हो । महिनाको पहिलो दिन सोमबार १ सय ६७ कम्पनीको ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाँको सेयर किनबेच भएको हो । सोमबार २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर ६ हजार ९ सय ४१ पटक किनबेच भएका थिए ।

बीमा कम्पनीमा आकर्षण
हालसम्म लगानीकर्ताको वाणिज्य बैंकमा आकर्षण देखिने गरेकोमा सोमबार भने बीमा समूहमा आकर्षण देखिएको छ । सोमबार ११ वटा समूहको सेयर कारोबार भएकामा ५ वटा समूहमा हरियाली छाएको छ । सबैभन्दा धरै निर्जीवन बीमा समूहको सूचक ३.४८ प्रतिशतले बढ्दा जीवन बीमा समूहको सूचक २.१३ प्रतिशतले बढेको छ । व्यापार समूह १.५२ र उत्पादमूलक समूह १.७ प्रतिशतले बढेका छन् । सबैभन्दा कम माइक्रोफाइनान्स ०.३७ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, सबैभन्दा धेरै होटल समूह ०.९९ प्रतिशतले तल झर्दा जलविद्युत समूहमा ०.७३ र बैंकिङ समूहमा ०.६३ प्रतिशतले गिरावट आएको छ । फाइनान्स समूह ०.३९, विकास बैंक समूह ०.३४ र अन्य समूहमा ०.३३ प्रतिशतले गिरावट आएको छ ।

कारोबारमा ग्लोबल आइएमईको संस्थापक
सोमबारको कारोबारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि देखिएको छ । सो कम्पनीको ९ करोड २६ लाख ९० हजार ८ सय ५४ रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र प्रभु बैंक परेका छन् । एनएमबीको ६ करोड २१ लाख ७६ हजार ५ सय २६ रुपैयाँको सेयर किनबेच भएको थियो । प्रभु बैंकको २ करोड ९१ लाख २ हजार ४ सय ५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

भार्गवको मूल्य बढ्यो
बजार झिनो अङ्कले घटे पनि सोमबार भार्गव विकास बैंकको सबैभन्दा धेरै ९.४२ प्रतिशत मूल्यवृद्धि भएको छ । प्रिमियर इन्स्योरेन्सको ५.७८ प्रतिशतले मूल्य बढेको छ । नेपाल इन्स्योरेन्स कर्पाेरेशनको ५.१४ प्रतिशतले मूल्य बढेको छ । १० वटा कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।

एक्सलको मूल्यमा गिरावट
सोमबार एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४.२९ प्रतिशतले सम्पत्ति गुमाए । युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.४५ प्रतिशतले सम्पत्ति गुमाउँदा मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ३.२३ प्रतिशतले सम्पत्ति गुमाए । जम्मा ११ वटा कम्पनीको सेयरमूल्यमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ९६ अर्ब कायम भएको छ ।