झापाः राष्ट्रिय आवास कम्पनी (तत्कालीन ग्रामीण आवास कम्पनी) को दोहोरो चरित्रका कारण मेचीनगर क्षेत्रका अधिकांश विकास निर्माणका काम ठप्प भएको नगरपालिकाले जनाएको छ ।

झापाको मेचीनगर—६ मेचीडाँडा पूर्व प्रगति टोलका बासिन्दा आफ्नो उचित बसोबासको टुङ्गो नलगाई पुलको काम शुरु गरेका कारण विस्थापित हुन लागेको भन्दै उचित बसोबासको माग गर्दै मेचीनगर नगरपालिका पुगेका थिए । पीडितसँगको छलफलका क्रममा नगरप्रमुख विमल आचार्यले कम्पनीले शर्त अनुसार काम नगरिदिदाँ कम्पनी नगरको विकास निर्माणमा बाधक बनेको बताए ।

कम्पनीले समयमै यहाँको समस्या समाधान गर्न सक्रियता देखाएको भए मेचीडाँडावासीको समस्या पहिल्यै हल भइसक्ने नगरप्रमुख आचार्यको भनाइ छ । प्रगति टोलवासी धेरैले आफ्नो जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्न सकेका छैनन् । यस कारण पनि यहाँको समस्या अन्योलमा रहेको छ ।

‘नगरका क्याम्पस, स्कुल, बसपार्क, देवकोटा पार्क, खेलमैदान, वडा कार्यालय, सहकारी संस्था रहेका जग्गा, श्रीजङ्घा बसपार्क धेरै जग्गाको स्वामत्वि अहिले पनि कम्पनीको नाममा छ’ नगरप्रमुख आचार्यले भने, ‘यी सबै जग्गाको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गर्नुप¥यो । कम्पनीको काम शर्तबमोजिम भएन, प्रतिशतको हिसाबले काम गरेन । कम्पनी जतिखेर पनि जग्गा बेच्ने दाउमा छ । दोहोरो नाफा कमाउने सोचमा छ । उसलाई नगरको समस्यामा कुनै चासो छैन् ।’
सोही कारण मिनी मार्केटमा व्यवस्थित टहरा बनाउन नसकेको उनले बताए । पुल निर्माणपछि अहिले पूर्व प्रगति टोलमा बसोबास गर्नेको उठीबास हुने सम्भावना भए पनि कम्पनीले केही नसोचेको उनको भनाइ थियो । कम्पनीले एउटै जग्गा २ ठाउँमा बिक्री गर्न लागेकाले नगरवासी पनि सचेत हुनुपर्ने उनको भनाइ थियो ।

एशियाली विकास बैंकको करिब १ अर्ब ५० करोड लगानीमा मेची नदीमा एशियाली राजमार्गको ४ लेन सडकसँगै नयाँ पुलको निर्माण कार्य धमाधम भइरहेको छ । पुल निर्माणसँगै यहाँका दर्जनौं परिवार विस्थापितको सूचीमा परेका छन् । यो पुलको निर्माणसँगै एशियाली हाइवे नेपालसँग जोडिने छ । तर, यो पुल र एशियाली हाइवेको लिंक रोड निर्माण हुँदा विस्थापित हुने सूचीमा परेका मेचीडाँडावासीलाई के गर्ने भन्नेमा हालसम्म निर्णय हुन सकेको छैन ।

लामो समयदेखि उनीहरूले मुआब्जा माग गर्दै आइरहे पनि हालसम्म नपाएको बताए । शुरुमा २४ घरपरिवार विस्थापितको सूचीमा परेका भए पनि थप २० घरपविार समेत अहिले त्यही सूचीमा परेको उनीहरूले नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएका थिए ।