झापाः मेचीनगरका पंक्षी तथा पशुपालक किसानहरूलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक २ दिने निःशुल्क पंक्षी तथा पशु स्वास्थ्य शिविर शुरु भएको छ ।
हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट काठमाडौंको प्राविधिक सहयोग र धुलाबारी माध्यमिक विद्यालयको सहआयोजना शिविर शुरु भएको हो । शिविरको नगरप्रमुख विमल आचार्यले उद्घाटन गरे ।
नगरप्रमुख आचार्यले बाहुनडाँगीलाई पशु र कृषिका लागि पकेट क्षेत्र बनाउने बताए । उनले यस क्षेत्रमा पशु अनुसन्धान केन्द्र स्थापनामा स्थानीय सरकार जुटेको र यसै वर्षदेखि पशु र कृषि केन्द्र स्थापना गरेर किसानलाई उत्पादनमूलक काममा लगाउने बताए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले बाहुनडाँगीलाई पशु अनुसन्धानका रूपमा विकास गर्ने नगरपालिकाको योजना साकार भएर छाड्ने हुनाले यसबाट लाभ लिन सबै किसानलाई आग्रह गरिन् ।
सहआयोजक धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले हल्लाको पछि नकुदी यो शिविरबाट अधिकतम लाभ लिन यस क्षेत्रका किसानलाई आग्रह गरेका थिए ।
शिविर सम्पन्न गर्न हिकाष्टका तर्फबाट २ जना विषयविज्ञ पशु चिकित्सकसहित ३२ जनाको टोली झापा आएको छ । धुलाबारी माध्यमिक विद्यालयमा अध्ययनरत पशु विज्ञानका छात्रछात्राले समेत शिविरमा सहयोग पु¥याएका छन् ।
भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण
यसैगरी, मेचीनगर नगरपालिका क्षेत्रभित्र भुस्याहा कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले भुस्याहा तथा घरपालुवा कुकुरहरूलाई ५ दिने निःशुल्क बन्ध्याकरण गरिने भएको छ ।