उर्लाबारी: उर्लाबारी नगरपालिकाले नगरका खोला ठेक्काका लागि आह्वान गरेको बोलपत्र बुझाउने अन्तिम दिन आज आफूहरूलाई बोलपत्र फारम दर्ता गर्न नदिइएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । नगरपालिकाले नगरभित्र रहेका ६ वटा खोलाजन्य पदार्थ निकासीका लागि रु २ करोड ९१ लाखमा ठेक्का आह्वान गरेको थियो । खोला ठेक्काको बोलपत्र बुझाउने अन्तिम दिन इटहरीका निर्माण व्यवसायी भीम पौडेलले केही गुण्डाहरू प्रयोग गरेर बोलपत्र फारम दर्ता गर्न नदिएको जे.एन.जे. निर्माण सेवा दमकका राजकुमार थापाले आरोप लगाए ।
नगरपालिकाको मुख्य गेट नै बन्द गरेर केही गुण्डा प्रयोग गरेर आफूहरूलाई बोलपत्र फारम दर्ता गर्न नदिइएको उनले आरोप लगाएका छन् । यस्तै के.एन. निर्माण सेवा रतुवामाई– १० का सञ्चालक ख्याम निरौलाले रु २ करोड ९१ लाखमा आह्वान गरिएको ठेक्का रु ४ करोड १ रुपैयाँमा लिने बोलपत्र फारम दर्ता गर्न जाँदा रोक लगाइएको बताए ।
केही गुण्डाहरू प्रयोग गरेर बोलपत्र फाराम दर्ता गर्न नदिएको उनको आरोप छ । अघिल्लो दिन १९ वटा बोलपत्र फारम वितरण भएकोमा षड्यन्त्र गरेर ४ वटालाई मात्र दर्ता गर्न दिइएको व्यवसायीको भनाइ छ । आफूहरू बोलपत्र फारम दर्ता गर्न जाँदा प्रहरी प्रशासनले समेत सुरक्षा नदिएको उनीहरूको भनाइ छ ।
‘बोलपत्र फाराम बुझाउन जाँदा नगर प्रहरीले माथिको आदेश चाहिन्छ भने,’ निरौलाले भने, ‘नगरपालिकाले यो ठेक्का प्रक्रिया रद्द गरेर अर्को आह्वान गर्नुपर्छ ।’ आफूहरूलाई खोला ठेक्का बोलपत्र फाराम दर्ता गर्न नदिइएको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको केही व्यवसायीले बताएका छन् ।
उर्लाबारी नगरपालिकाले नगरका मावा, बक्राहा, सोल्टी, सुनझोडा, मिक्लु र नुनसरी खोलाको खोलाजन्य पदार्थ निकासीका लागि ठेक्का आह्वान गरेको थियो ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले १ महिना अघिदेखि नै ठेक्का आह्वान गरिएकाले अन्तिम दिन बुझाउन पाइनँ भन्नुको अर्थ नरहेको बताएका छन् । नगरपालिका बाहिर २ पक्षबीच भएको घटनाका विषयमा थाहा नभएको फागोले बताए । घटनापछि असन्तुष्ट व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गरेका हुन् ।