इटहरीः धनकुटामा रहेर लामो समयदेखि कविता, पेन्टिङ र अन्य धेरै कलाकर्ममा सक्रिय मुकुन्द प्रयासले अब प्रदेश पोर्टलका लागि कार्टुन बनाउने भएका छन् । प्रयास र प्रदेश पोर्टलबीच आजबाट कार्टुन बनाउने बारेमा सहमति भएको प्रदेश पोर्टलका प्रबन्धक देवान किरातीले बताए ।
यससँगै सङ्घीय राजधानीबाहिर अनलाइन समाचार सामग्रीमा कार्टुन समेट्ने प्रदेश पोर्टल पहिलो अनलाइन भएको छ । पत्रकारिताको अभिव्यक्तिमा कार्टुन अनिवार्य जस्तै भएकाले कार्टुन सेक्सनमा मुकुन्द प्रयासलाई स्वागत गर्न पाउँदा खुशी लागेको प्रधान सम्पादक राजेश विद्रोहीले बताए ।
प्रयासका कार्टुन प्रदेश पोर्टलसँगै काठमाडाैं बाहिरबाट पहिलोपटक सञ्चालित इटहरीको आर्थिक दैनिक पूर्वी बजारले पनि प्रयोग गर्ने भएको छ । पूर्वी बजारका प्रकाशक तथा सम्पादक प्रेम बास्तोलाले कार्टुन प्रयोगसँगै पूर्वी बजारले नयाँ प्याकेज थपेको बताए । उनले भने, ‘भारतका शहरमा भएका विभिन्न सार्क साहित्य तथा कला उत्सवमा समेत सहभागी वरिष्ठ कलाकार मुकुन्द प्रयासलाई समेट्दा खुशी लागेको छ ।’
मुकुन्द प्रयासले आफूले धेरै समयको ‘ग्याप’पछि आम सञ्चारमा बनाइने कार्टुनमा फर्किन पाएको बताए । उनले भने, ‘प्रदेश पोर्टल डट कम र पूर्वी बजार दैनिकसँग कार्टुन सेक्सनमार्फत् जोडिएर कार्टुन कर्ममा पुनः फर्कन पाउँदा मलाई खुशी लागेको छ ।’