इटहरीःलकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरुलाई विहान वेलुका हातमुख जोड्न समस्या हुनेतर्फ मध्यनजर गर्दै नेपाल अग्रवाल सभा इटहरीले इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई राहत वितरण गरेको छ । उपमहानगरपालिकासँग समन्वय गरि नेपाल अग्रवाल सभा इटहरीले वाड नम्बर १०, ९ र ६ मा खाद्यान्न राहत वितरण गरेको हो ।

एक मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने कोरोना भाईरसको सन्त्रासका कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा काममा जान नपाएका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारका मानिसहरु भोकभोकै नपरुन भनेर माडवारी सम्वद्ध विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा खाद्यान्न राहत वितरण गरिएको नेपाल अग्रवाल सभा इटहरीका अध्यक्ष मुकेश अग्रवालले जानकारी दिए । सभाले इटहरी वाड नम्बर १० का एक सय परिवार, वाड नम्बर ९ का एक सय २५ परिवार र वाड नम्बर ६ का ३७ परिवारलाई प्रति परिवार दश केजी चामल, १ केजी दाल्, आधा केजी नुन र आधा लिटर खानेतेल वितरण गरिएको उनले जानकारी दिए।

विपद्का समयमा राहत वितरण साथै अन्य समयमा समेत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको नेपाल अग्रवाल सभाले माडवारी समुदायको सहभागिता रहेको माडवारी सेवा समिति इटहरी, माडवारी युवा मञ्च इटहरी, मारवाडी महिला मञ्च, श्यामभक्त परिवार इटहरी, महेश्वरी समाज इटहरी र माडवारी ब्राह्मण समाज इटहरीका पदाधिकारीहरुवाट संकलन गरेको राहत सामाग्री वितरण गरेको जनाइएको छ । सभाले इटहरी क्षेत्रका थप ४ सय २५ परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको समेत जनाएको छ ।