इटहरीः इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गरी ३ दिनसम्म संविान दिवस मनाउने भएको छ ।उपमहानगरका प्रेस सल्लाहकार लीलाराज भट्टराईका अनुसार उपमहानगरको संयोजनमा कम्तीमा सय विद्यालय र सय चोक सफाइ गरिने भएको हो । मङ्गलबार बिहान इटहरीका सबै सरकारी कार्यालय र सङ्घ संस्थालाई आआपनो कार्यालय वरपर सफाइ गर्न उपमहानगरले आग्रह गरेको छ ।

त्यस्तै, इटहरीका ३ स्थानमा राम्रो संविधानका रूपमा हाम्रो संविधान विषयक अन्तरमावि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । मङ्गलबारदेखि ४ गतेसम्म प्रत्येक कार्यालयमा साँझ दीपावली गरिने भएको छ । बुधबार साँझ नगरवासीलाई घरघरमा दीपावली गर्न उपमहानगरले आग्रह गरेको छ । बुधबार बिहान ७ बजे नगरपालिकामा भेला भई नौमती बाजा, नेपाली सेना र सशस्त्र प्रहरीको ब्याण्डबाजा तथा विभिन्न सङ्घ संस्थाको ब्यानर र प्लेकार्डसहित प्रभातफेरीको कार्यक्रम रहेको बताइएको छ ।