इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भारतका बिभिन्न स्थानबाट तराईमा आएकाहरु धेरैजसो सम्पर्कमा नआएकाले जतिबेलापनि प्रदेश एकमा कोरोना भाइरसको संक्रमण देखा पर्न सक्ने बताएका छन् । उनले संक्रमणदेखिए भयावह हुने स्थिति रहेको बताएका छन् ।

काठमाण्डौंबाट संचालित अनलाइनखबरका स्थानीय संवाददातालाई अन्तरवार्त  दिदै मुख्यमन्त्री राईले प्रदेश सरकारले स्थानीय तहहरुलाई बाहिरबाट आएकाहरुको पहिचान गरेर निगरानीमा राख्न पटक–पटक निर्देशन दिएको उनले बताए । उनले भने –‘ पहाडी जिल्लामा त पहिचान भइसकेको छ । सबै निगरानीमा छन् । तराईमा चाहिँ धेरैजसो सम्पर्कमा नआएको अबस्था छ ।’ सौभाग्य भन्नपर्छ, प्रदेश १ मा अहिलेसम्म संक्रमण देखापरेको छैन । स्वाब परीक्षण भएका ८५ मध्ये ७० जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकीको पनि रिपोर्ट नेगेटिभ नै आउने आशा राखेको उनले बताए ।
 उनका अनुसार लकडाउनपछि आएका करिब हजार जनालाई नाकाबाट सीधै क्वारेन्टाइनस्थलमा लगिएको छ । उनिहरुमा परीक्षण गरेर धेरैजसोलाई होम क्वारेन्टाइनमा रहने गरी घर पठाइएको उनले बताए । जोखिम घटाउन सबैलाई भनेका छौं । आग्रह गर्ने, कडाइका साथ बाध्य बनाउने, स्वास्थ्यमा समस्या देखिए क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने, त्यसपछि आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्नेमा प्रदेश सरकार लागि परेको उनले बताए ।
कुनै पनि बेला संक्रमण देखा पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रदेश सरकार , स्थानीय सरकारका जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मी र सुरक्षाअधिकारीहरु अहोरात्र खटिरहेको मुख्यमन्त्री राईले बताए । उनले भने –‘हामी कोरोनाको उच्च जोखिम छौं भन्ने कुरा हामीलाई थाहा छ । किनभने, भारतबाट आएको ठूलो संख्याका नेपाली हाम्रो प्रदेशमा छन् । त्यस्ता मानिसलाई पहिचान गर्ने, चेकजाँच गर्ने र अनिवार्य होम क्वारेन्टाइनमा बसाउने काम भइरहेको छ ।’
उनका अनुसार अहिलेको प्रमुख समस्या भनेको स्वास्थ्य सामाग्रीको हो । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीले नै अत्यावश्यक सामग्री नपाएको अवस्था रहेको उनले बताए । उनले भने –‘धन्न, अहिलेसम्म संक्रमण देखा नपरेको हुनाले धेरै अप्ठ्यारो परेको छैन । संक्रमण देखियो भने भयावह हुने स्थिति छ ।’
प्रदेश नम्बर १ मा ५ हजार ३५६ जना स्वास्थ्यकर्मी छन् । अहिलेसम्म पीपीए ५७८ थान मात्र रहेको उनले बताए । उनले लाखौं थान पीपीए आवश्यक पर्ने स्थिति आउन सक्ने बताए । यो अभाव पूर्तिका निम्ति कोरोना भाइरस उच्चस्तरीय समितिलाई प्रदेश सरकारका तर्फबाट कुरा राखिसकेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले निजी क्षेत्रसँग स्वास्थ्य सामाग्रीका बिषयमा निरन्तर कुराकानी गरिरहेको छ ।
 उनले भने –‘हामीलाई हजारौं बेड, आइसीयू, भेण्टिलेटर चाहिएको छ । यसका लागि प्रदेश सरकारले खरिद प्रकिया अगाडि बढाउने कि केन्द्र सरकारबाट उपलब्ध हुने भन्नेबारे छलफल गरिरहेका छौं ।’ उनले बिरामीले सहजरुपमा उपचार नपाएको भन्नेबारे दुई दिन अघिमात्र क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठक बसेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको बताए । बिरामी लिन नमान्ने अस्पताल कुन–कुन हुन्, किन मानेनन् भन्ने विषयमा आवश्यक कारवाही प्रक्रिया थाल्न समेत निर्देशन दिएको मुख्यमन्त्री राईले बताए । प्रदेश सरकार सबैखालका बिरामीले व्यवस्थित ढंगबाट उपचार पाउने प्रवन्ध गर्न लागेको उनले बताए ।लकडाउनलाई प्रदेश एकमा पूर्णरुपमा पालना गराउन निर्देशक समिति मातहतका चार समितिमध्ये आपूर्ति व्यवस्था समिति क्रियाशील छ । सामाजिक दुरी कायम राखेर निश्चित समयमा दैनिक उपभोग्य वस्तुहरु किन्न सक्ने व्यवस्था गरिएको उनले बताए । डिपार्टमेण्टल स्टोरहरुले पनि सामाजिक दुरी राखेर उपभोग्य सामान दिइरहेको उनले बताए ।
लकडाउन भनेको नेपाल बन्दमा जस्तो पाँच बजेपछि घुर्र बाहिर निस्किन पाउने भन्नेखालको बुझाइ पनि रहेको उनले बताए । हामीले लकडाउनमा पालना गर्नुपर्ने कुराहरु पनि बताउन परिरहेको छ । लकडाउन के हो, कोराना भाइसरबाट कसरी बँच्ने जस्ता सचेतना जगाउने सामग्री अनलाइन मिडिया, टेलिभिजन, एफएमबाट प्रशासन गर्ने काम पनि भइरहेको उनले बताए ।
 उनले भने –‘होसियारीका साथ निश्चित समयमा उपभोग्य वस्तुरहरु किन्न भने समस्या छैन । यसमा समस्या नहोस्, अनियमितिता नहोस् भनेर कडाइ पनि गर्दै आएका छौं । विपतको अवस्थामा कसैले कालोबजारी गरेको पाइए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।’
उनका अनुसार प्रदेश सरकारले अनुगमन कार्यालयहरुलाई जिम्मेवारी तोकेको छ । कालोबजारी भएको सूचना दिन टोल फ्री नम्बर छ । मुख्यमन्त्रीको कार्यालयमा इन्फर्मेसन डेक्स बनाएका छौं । सबै मन्त्रालयमा कोरोना फोकल पर्सन तोकिएको छ । कहीँ, कतै गलत भएको सूचना पाउनासाथ हामी कार्वाहीको दायरामा ल्याउने हिसावले अघि बढ्ले उनले बताए ।
 उनले लकडाउनलाई प्रभावकारी बनाउनुको विकल्प नभएको बताए । मान्छेहरुले लकडाउनको अर्थ बुझन सकेनन् भने कफूर्य लगाएर भए पनि पालना गराउनुपर्ने उनको भनाई छ । त्यो कोणबाट पनि सोचेर सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राख्नुस् भनेर मुख्यतः झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई आफुले भनिसकेको उनले बताए ।
लकडाउनको अर्थ क्रमशः बुझ्दै, पालना गर्दै गएको भन्ने रिपोर्ट आफुलाई आएको उनले बताए । यसलाई यसरी नै पालना गराउँदै जानेमा हामी केन्द्रित छौं । थप भएको बैशाख ३ गतेसम्मको लकडाउनको समय असाध्यै जोखिमपुर्ण रहेको उनले बताए । यति समय जोगिएर बस्न सकियो भने देश जोगिन्छ । सबै नेपाली दिदिबहिनी, दाजुभाइले यो कुरा बुझेर पालना गर्नु पर्नेमा उनले जोड दिए ।
कतिपय ठाउँमा आफुखुसी राहत वितरण गर्न मान्छे जम्मा पार्ने, सामाजिक सञ्जालमा प्रचार गर्नेखालका कामहरु भइरहेको फाटफुट सूचना आइरहेकाले त्यस्ता कार्यलार्य नियन्त्रण गर्दै जाने उनको भनाई छ ।