इलामः इलामको सूर्योदय–१ मा रहेको मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय कार्यालय सहयोगी भरमा चल्ने गरेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलाम अन्तर्गत रहेको छोटी भन्सार कार्यालय १ जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।
४ जना कर्मचारीको दरबन्दी भए पनि अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत रहेका छन् । नेपालबाट तरकारी, जडिबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ । भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजस्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको हो । अघिल्ला वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन भए पनि कर्मचारी कम हुँदा अहिले मासिक २० देखि २५ हजार रुपैयाँमात्रै सङ्कलन हुँदै आएको कार्यालय सहयोगी धिमालले बताए ।
छोटी भन्सार कार्यालयको भवन जीर्ण भए पनि अझै निर्माण तथा मर्मत भएको छैन । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको छ । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार सेरेङले बताए ।
सो छोटी भन्सारमा कर्मचारी कम भएको विषयमा जिज्ञासा राख्दा पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलिया अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको बताउँछन् । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले ९ जना मात्रै कार्यरत रहेका छन् ।
१ जना शाखा अधिकृत, ६ जना नायब सुब्बा, ९ जना कार्यालय सहयोगी र १ जना लेखापाल दरबन्दी रहेको भन्सार कार्यालयमा अहिले ६ जना कार्यालय सहयोगी, ३ जना नायब सुब्बा र १ जना लेखापाल मात्रै कार्यरत रहेका छन् ।
भौतिक संरचना नहुँदा ८ मध्ये ३ छोटी भन्सार मात्र सञ्चालनमा
पशुपतिनगर भन्सार कार्यालय अन्तर्गत रहेका ८ वटा छोटी भन्सारमध्ये ३ वटा मात्र सञ्चालनमा रहेका छन् । छोटी भन्सार सञ्चालन नहुँदा अवैध रूपमा भारत तर्फबाट निकासी भइरहेको हो । २०२१ सालमा पशुपतिनगर भन्सार कार्यालय मातहतमा इलाम र पाँचथरमा ८ वटा छोटी भन्सार सञ्चालन रहेकोमा सशस्त्र द्वन्द्वका बेलामा छोटी भन्सार कार्यालयमा क्षति पुगेपछि बन्द हुन पुगेका थिए । शान्ति प्रक्रियापछि हाल ३ वटा मात्र पुनः स्थापना भई सञ्चालनमा रहेका छन् ।
मानेभञ्ज्याङ र छिरुवामा छोटी भन्सार कार्यालय तथा छब्बीसेमा छोटी नाका सञ्चालनमा रहे पनि इलामको तुम्लिङ, बन्दुके र माइमझुवा तथा पाँचथरको मेमेङ र च्याङथापु छोटी भन्सार सञ्चालनमा छैनन् । भौतिक संरचना नभएकाले सबै क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न समस्या रहेको पशुपतिनगर भन्सार कार्यालयका नायब सुब्बा चेतनाथ खनालले बताए ।
सञ्चालनमा रहेका छोटी भन्सारको समेत आप्mनो कार्यालय भवन नहुँदा भवन भाडामा लिएर कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेको खनालले बताए । सीमा क्षेत्रमा भारतीय ल्यान्ड कस्टम नरही कस्टम चेक प्वाइन्टमात्र रहँदा मालवस्तुको निर्बाध निकासी पैठारीमा समस्या हुनुका साथै दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा नियमित कार्य सञ्चालनमा समस्या रहेको छ ।
२०७२ बैशाख ६ गते कार्यालय प्रमुखका रूपमा आएका भन्सार अधिकृत प्रकाश पोखरेल २०७४ असोज २५ गते सरुवा भई वीरगञ्ज कार्यालयमा गएका कारण भन्सार कार्यालय प्रमुख विहीन बनेको छ । भन्सार अधिकृत नहुँदा हाल नायब सुब्बा सुरेशराज थपलिया निमित्त प्रमुखको रूपमा काम गरिरहेका छन् ।