इटहरीः केही दिन यता आमसञ्चार र खास गरी अनलाइन मिडियाहरूमा सङ्घीय समाजवादी फोरम नेपालको विरुद्धमा भ्रामक समाचार आइरहेको भनी केन्द्रीय सदस्य पदम अधिकारीले विज्ञप्ति सार्वजनिक गरेका छन् ।

इटहरी नगरसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा भएको आन्तरिक घटनालाई अतिरञ्जित बनाइएको र भ्रामक समाचार बाहिर आएको भनी अधिकारीले आज बिहान विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

अधिकारीले प्रेस विज्ञप्तिमा पार्टीको केन्द्रीय योजनाअनुसार सङ्गठन बिस्तार र सुदृढीकरण गर्ने कार्यक्रम देशभर चलिरहेको बताएका छन् । इटहरी नगर समितिको आयोजनामा छिमेकी नगर समेतको सहभागितामा नगरस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र चलिरहेको बेला केही व्यक्ति उच्छृङ्खल ढङ्गले प्रस्तुत भएपछि कार्यक्रमलाई व्यवस्थित गर्न आयोजकले हस्तक्षेप गरी कार्यक्रम व्यवस्थित गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

घटनाको विषयलाई लिएर संसफो नेपालको कार्यक्रममा हात हालाहाल भएको २ वटा समिति बनेको र विवाद छताछुल्ल भएको तथा सचिवलाई अध्यक्षले हातपात गरेको भनी भ्रामक समाचार प्रकाशन भएको भनी अधिकारीले आरोप लगाएका छन् ।

सम्बन्धित पक्षको भनाइ नराखी प्रायोजित समाचार प्रकाशन भएकाले भ्रममा नपर्न उनले विज्ञप्तिमार्फत् कार्यकर्ता र सर्वसाधारणमा अनुरोध गरेका छन् । इटहरीमा संसफो नेपालको बलियो उपस्थितिबाट त्रसित भएकाहरूले भ्रामक समाचार प्रकाशनमा सहयोग गरेको अधिकारीले आरोप लगाएका छन् ।

कार्यक्रममा उपस्थित नै नभएका वरिष्ठ नेता अशोक राईको उपस्थितिमा कार्यक्रम भएको भनिनु अनि पार्टीका नेताहरूको पद र विभाग सही नलेखिनुले तथ्यहीन समाचार आएको पुष्टि गरेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । समाचार सन्तुलनको सिद्धान्तलाई अवलम्बन नगरी लेखिएका समाचारबाट कसैले पनि भ्रममा पर्न नहुने भनी उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।